Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

फिल्म बनाउँदै प्रियंका, साम्तेनले निर्देशन गर्ने

फिल्मीखबर, काठमाडौं, 2019/01/12
छोटो समयमा सर्वाधिक लोकप्रियता कमाएकी अभिनेत्री प्रियंका कार्की अब निर्मात्रीको रुपमा उदाउँदैछिन् । उनका समकक्षी ऋचा शर्मा, केकी अधिकारी, निशा अधिकारीलगायत निर्मात्री बनिसकेको अवस्थामा अब संसारको सबैभन्दा जटिल काम मानिने फिल्म मेकिङमा उनी पनि हात हाल्दैछिन् । 
 
सम्भवतः अर्को वर्ष उनी आफ्नो होम प्रोडक्सनबाट फिल्म बनाउनेछिन् । अहिले कथामा काम भइरहेको प्रियंका बताउँछिन् । हाल 'हजार जुनीसम्म' मा व्यस्त उनको निर्माण रहने फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्ने फाइनल भइसकेको छ । 'तान्द्रो', 'लेटर', 'साढे सात' लगायतका फिल्म उनले निर्देशन गरिसकेका छन् । 
 
हालै फिल्म ‘अनागत’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले आफ्नो निर्माण रहने फिल्मलाई साम्तेनले निर्देशन गर्ने कुरामा सत्यता रहेको बताइन् । उनले भनिन्, 'हो, हामी सहकार्य गर्दैछौं । अहिले कथामा काम भइरहेको छ । उसले सुनाएको कन्सेप्ट निकै मनपरेका कारण फिल्म बनाउन तयार भएको हुँ ।'
 
 
निर्देशक भुटियाको निर्देशनमा प्रियंकाले ‘अनागत’ मा काम गरिसकेकी छन् । यो फिल्म माघ ११ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्देशक भुटियाको काम गर्ने शैलीबाट आफू प्रभावित भएको उनले बताइन् । उनी भन्छिन्, 'डार्क, सस्पेन्स र हरर होइन । एकदमै साधारण फिल्म बनाउँदैछौं । तर, अहिले नै यस विषयमा भन्नु उचित नहोला ।' 
 
दुईको ट्यूनिङ मिल्ने भएर पनि सहकार्य सम्भव भएको प्रियंकाको भनाइ छ । निर्देशक भुटियाको प्रशंसा गर्दै प्रियंका भन्छिन्, 'उसले देखेको क्यारेक्टर र लेखेको स्क्रिनप्ले फिल्ममा उतार्न पनि आवश्यक पर्दैन । उसले स्क्रिप्टमा नै भिजुअल देख्छ । र, उसले सुनाउँदा म पनि सँगसँगै देख्छु ।' 
 
निर्देशक भुटियालाई बुझ्न आफू पनि 'साइको' हुनुपर्ने उनको बुझाइ छ । 'उसको 'भिजन', उसको 'सेन्स' यस्तो लेभलमा छ जहाँ पुग्न जो कोही सक्दै सक्दैनन्', उनी अगाडि भन्छिन्, 'हामी दुईको सोचाइ मिल्छ र काम गर्न ट्यूनिङ पनि मिल्नु पर्छ र हाम्रो मिल्छ ।' उनले फिल्मको विषयमा केही महिनामा विस्तृत जानकारी दिने बताइन् । 
Most Visited News (monthly)