Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’ छाडेकी शुभेच्छा भन्छिन्, ‘मलाई ‘सो पिस’ मात्र हुनु छैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/12
व्यूटी प्याजेन्टको जग समातेर नेपाली फिल्ममा आफ्नो भविष्य निर्माण गर्ने/चाहने सुन्दरीहरु धेरै छन् । तर, तीतोसत्य के हो भने व्यूटी प्याजेन्टबाट नेपाली फिल्ममा उदय भएका एकाध सुन्दरी बाहेक कोही लामो रेसको घोडा बन्न सकेका छैनन् । अधिकांश दुई दिनको घाम–छाँया मात्र भएका छन् । 
 
यसबीच फिल्म ‘रणवीर’ बाट फेरि एक सुन्दरीको नेपाली फिल्ममा जन्म भएको छ । उनी हुन् शुभेच्छा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल जितेकी उनी मिस नेपालमा सेकेन्ड रनरअप समेत भएकी थिइन् । अब नेपाली फिल्म लिड गर्ने जोश छ उनमा । असफल सुन्दरीको भीडमा अपवाद पनि बन्नु छ उनलाई । 
 
 
उनलाई ‘रणवीर’ भन्दा अगाडि पनि केही फिल्मबाट अफर नआएका होइनन् तर कुनै स्क्रिप्टले उनलाई तानेन । ‘‘रणवीर’ को कथा सुनेपछि चाहिँ यो छाड्नुहुन्न भन्ने लाग्यो र गरेँ’’, शुभेच्छाले भनिन् । उनी भन्छिन्, ‘फिल्म सोचे जस्तै बनेको छ । मैले आफ्नो तर्फबाट बेस्ट दिन कुनै कसर बाँकी राखेको छैन ।’
 
‘रणवीर’ भन्दा अगाडि उनले छाडेको एक फिल्म बक्सअफिसमा हिट साबित भयो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ अभिनेत्री दीपिका प्रसाइँलाई भन्दा अगाडि शुभेच्छालाई अप्रोच गरिएको थियो । तर, उनलाई रोल मन परेन र छाडिन् । शुक्रवार ‘रणवीर’ को ट्रेलर रिलिज कार्यक्रममा उनले ‘ऐश्वर्य’ छाड्नुको कारण खुलाइन् । 
 
पत्रकारको प्रश्नमा उनले भनिन्, ‘उक्त फिल्म नगर्नुको कारण रोल चित्त नबुझेर हो । सुरुमा म फिल्ममा मेरो रोलले कति फरक पार्छ भन्ने कुरा हेर्छु । फिल्ममा ‘सो पिस’ भएर मात्र प्रस्तुत हुन छैन मलाई । अभिनय पनि देखाउनु छ । मेरो रोलले फिल्ममा खासै फरक नपार्ने देखेपछि उक्त फिल्म गरिनँ ।’
 
फिल्ममा कसैको सफलता र असफलता भाग्य र मेहनतमा भर पनि उनी बताउँछिन् । प्रायः सुन्दरीहरु फिल्मी करिअर 'सक्सेस' भएको देखिँदैन, तपाईको के हो ? भन्ने पत्रकारको प्रश्नमा शुभेच्छा भन्छिन्, ‘फिल्म गर्ने, हिट हुने र स्टारडम पाउने सबै मेहनत र लकमा भर पर्छ । हेरौं, मेरो भाग्यमा के लेखेको छ ।’ उनी ‘रणवीर’ बाट निकै आशावादी देखिन्छिन् । 
Most Visited News (monthly)