नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश 'दिन दुई गुना रात चौगुना' ले बढेको छ । पुराना अभिनेता वा अभिनेत्रीहरु भविष्य सुरक्षित बनाउन पलायन हुँदै गर्दा नयाँ पुस्ताको आगमनले फिल्म क्षेत्र भरिभराउ देखिन थालेको छ । अचेल हरेक नेपाली फिल्मबाट नेपाली फिल्म क्षेत्रले एक नयाँ अनुहार पाइरहेको छ ।
.jpg)
यसबीच, ४ माघबाट रिलिज हुने फिल्म ‘गरुड पुराण’ बाट नव-अभिनेत्री प्रियंका सिंहको उदय भएको छ । उनले यही फिल्मबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । काठमाडौं रैथाने उनलाई बफिन्स ९८ को म्युजिक भिडियो 'अन्जानैमा...' हेरेर निर्देशक सुवास कोइरालाले ‘गरुड पुराण’ मा डेब्यु गराएका हुन् ।
फिल्ममा डेब्यु गर्नुभन्दा अगाडि शहरिया युवापुस्तामा सर्वाधिक लोकप्रिय मनोरञ्जनात्मक म्युजिक भिडियो एप्स 'टिकटक' (म्युजिकल्ली) मा उनी खुबै हिट थिइन् । सयौं 'टिकटक' भिडियोमा उनको अभिनयले निर्देशक कोइरालालाई आकर्षित गरेको थियो । जसकारण उनी फिल्म ‘गरुड पुराण’ मा लिड अभिनेत्रीमा चयन भइन् ।
प्रियंकाको बुझाइमा 'टिकटक' मा अभिनय गरेजस्तो सजिलो छैन फिल्ममा अभिनय गर्न । ‘‘टिकटक’ त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर, फिल्ममा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो हुने रहेछ’’, उनले अनुभव सुनाइन् । यस फिल्ममा उनी तीन हिरोको प्रेमिकामा भूमिकामा छिन् ।
.jpg)
साधारणतया निकै कम बोल्ने उनी फिल्ममा भने धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो भूमिकाबारे उनी भन्छिन्, ‘‘गरुड पुराण’ मा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफूपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्दैछु ।’’
म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियंका अब नेपाली फिल्ममा आफ्नो भविष्य निर्माण गर्ने सोचमा छिन् । यसबीचमा केही फिल्मबाट प्रस्ताव आए पनि उनी डेब्यु फिल्मको रिजल्ट हेरेर मात्र निर्णय लिने मनसायमा छिन् । उनी फिल्ममा काम गर्दा सबैभन्दा सहज अभिनेता कर्मासँग भएको बताउँछिन् ।
.jpg)
फिल्ममा प्रियंका र कर्माका अलावा नाजिर हुसेन, लुनिभा तुलाधर, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, प्रकाश घिमिरे, जान्ह्वी बोहोरालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मको कथा कशम नेपालको हो ।

