गएको ६/७ वर्षमा अभिनेता अनमोल केसीले खासै विवादको सामना गर्नु परेन । आफ्नो फिल्मको कार्यक्रमभन्दा बाहेक अरु सार्वजनिक कार्यक्रममा निकै कम भेटिने उनी कसैप्रति कुनै प्रकारको अभिव्यक्ति दिँदैनन् । उनी मौन बस्नुमा नै आफ्नो जित सम्झन्छन् । हुनत, सेलिब्रेटीका लागि विवाद ठूलो कुरा भने होइन ।
गएको तीन वर्ष अगाडि निर्देशक दिनेश डिसीले अनमोललाई अभिनय गर्न नआउने र पिता भुवन केसीजस्तो लामो रेसको घोडा बन्न राम्रो निर्देशकसँग काम गर्नुपर्ने सुझाएका थिए । डिसीको यस गम्भीर आरोपको समेत प्रतिउत्तरमा उनले कहिल्यै केही बोलेनन् । यसको अर्थ बजारमा चलिरहेको हल्लाको खण्डन गरेर उनी सस्तो बन्न चाहँदैनन् ।
तर, पहिलो पटक उनी आफ्नै अभिव्यक्तिका कारण आलोचनाको पात्र बनेका छन् । मंगलवार साँझ 'ए मेरो हजुर ३' को छायांकनका लागि अमेरिका उड्दै गर्दा अहिलेका तीन अभिनेता प्रदीप खड्का, पल शाह र सलिनमान बनियाँलाई लिएर उनले एक बयान दिए, जसलाई लिएर अहिले असन्तुष्टिका स्वर सुनिन थालिएको छ ।
‘ब्याचलर बन्टी’ मा रोल मन नपरेर छाडेको बताएपछि अनमोललाई पत्रकारले प्रश्न गरे- ‘अब त्यो स्क्रिप्टमा कुन अभिनेताले काम गर्दा राम्रो हुन्छ होला ?’ उनले अहिलेका चल्तीका तीन अभिनेताको नाम लिन समय लगाएनन् । उनले भने, ‘अहिले जति पनि छन् यो मार्केटमा प्रदीप, पल र सलिनमान उहाँहरुले गर्दा राम्रो हुन्छ ।’
.jpg)
उनले नाम लिएका तीन अभिनेतालाई उनका कडा प्रतिस्पर्धीको रुपमा लिइन्छ । तर, उनको सो अभिव्यक्तिलाई दुई अर्थमा अथ्र्याइएको छ । उनले तीन अभिनेताको सम्मान गरेर भनेका थिए वा अपमान ? यसलाई धेरैले धेरै तरिकाबाट विश्लेषण गरिरहेका छन् । तर, रोल मन नपरेर आफूले छाडेको फिल्म नामै तोकेर यी-यी अभिनेता गर्दा राम्रो हुन्छ भन्नु सम्मान नभइ अपमान गरेको देखिन्छ ।
अनमोलको मुखबाट उच्चारण भएका तीन अभिनेता अहिलेका 'हटकेक' हुन् । उनीहरुलाई लिएर फिल्म बनाउन धेरै निर्माता/निर्देशक तँछाड-मछाड गर्ने गर्दछन् । तर, उनै अभिनेतालाई आफूले छाडेको फिल्म गर्न घुमाउरो शैलीमा सुझाव दिनु अनमोलजस्ता अभिनेतालाई सोभा दिँदैन । उनीबाट यसप्रकारको अभिव्यक्तिको कसैले अपेक्षा गर्दैनन् ।
प्रायः निकै सम्यमतापूर्वक आफ्नो भनाई राख्ने उनी पहिलो पटक आफ्नै अभिव्यक्तिका कारण आलोचित बन्नु परेको छ । यतिबेला प्रदीप, पल र सलिमानका प्रशंसकले अनमोलको जमेरै आलोचना गरिरहेका छन् भने चलचित्रकर्मीहरु पनि उनको अभिव्यक्तिलाई सकारात्मक मान्न तयार छैनन् । धेरैले उनको बोलीलाई घमण्डको रुपमा परिभाषित गरेका छन् ।
बोल्न एउटा खोजे पनि अर्थ अर्कै लागिदिँदा अहिले अनमोललाई नसोचेको तनाव सृजना भएको छ । दुई हप्ता अमेरिका बस्ने उनले यस विषयमा अब आफ्नो बयान दिन्छन् वा दिँदैनन् ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । साथै, प्रदीप, पल र सलिमानको यस विषयमा जवाफ के रहनेछ ? यो पनि धेरैका लागि चासोपूर्ण भएको छ ।

