Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण छाडेँ ‘ब्याचलर बन्टी’ : अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2019/01/09
गएको ६ वर्षदेखि नेपाली फिल्ममा आफ्नो सिक्का जमाइरहेका अभिनेता अनमोल केसीले पहिलो पटक साइन गरेको फिल्म छाडे । करीब ४ महिना अगाडि उनले ४५ लाख पारिश्रमिकमा १० लाख साइनिङ एमाउन्ट बुझेर मिलन चाम्सको प्रोजेक्ट ‘ब्याचलर बन्टी’ साइन गरेका थिए । उनले आइतबार सहमतीबाटै उक्त फिल्म छाडे । 
 
हुनत, अनमोल ‘ए मेरो हजुर ३’ र निर्देशक चाम्स 'वीरविक्रम २' मा व्यस्त हुँदा ‘ब्याचलर बन्टी’ नबन्ने ठूलै हल्लाखल्ला भइसकेको थियो । तर, गएको हप्ता निर्देशक सुदीप खड्का र अनमोलबीच भएको भेटपछि फिल्मको बैशाखबाट छायांकन सुरु गर्ने र भदौमा रिलिज गर्ने सहमती भएको थियो ।  
 
यसको केही दिनमा फिल्म 'वीरविक्रम २' को गीत सार्वजनिक कार्यक्रममा निर्देशक चाम्सले फिल्म नबन्ने विषयमा भ्रामक हल्ला फैलाउने र गलत समाचार सम्प्रेशण गर्ने सबैलाई श्राप दिन्छु भन्दै कड्किए । उनले अनमोलसँग आफ्नो फोनमा कुरा भइरहने/भइरहेको बताएका थिए । तर, यसको तीन दिनमा अनमोलले फिल्मबाटै हात झिके । 
 
धेरैले आफ्नो श्राप निर्देशक चाम्स स्वयंलाई लागेको बताउन थालेका छन् । यद्यपि, अनमोलले फिल्म छाडेको औपचारिक जानकारी दिएपनि निर्देशक चाम्स र निर्माता खड्का यस विषयमा मौन छन् । खबरअनुसार, केही दिनमा निर्माण टिमले पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने तयारीमा रहेको छ । 
 
 
‘ब्याचलर बन्टी’ बाट हात झिके लगत्तै अभिनेता अनमोल मंगलवार साँझ अमेरिका उडेका छन् । 'ए मेरो हजुर ३' को एक गीत खिच्न उनी दुई हप्ताका लागि त्यसतर्फ उडेका हुन् । अमेरिका उड्नुभन्दा अगाडि सञ्चारकर्मीसँग त्रिभुवन विमानस्थलमा कुराकानी गर्दै ‘ब्याचलर बन्टी’ छाड्नुको कारण वृस्तितमा बताए । 
 
उनले भने, 'मैले फिल्मको फाइनल ड्राफ्ट त पढ्न पाइसकेको थिइनँ । तर, वान ड्राफ्टमा सुन्दा चाहिँ मलाई मेरो रोल चित्त बुझेन । यसकारण छाडेको हुँ ।' उनी उक्त फिल्मको स्क्रिप्ट र हिरोइन चित्त नबुझेर छाडेको कुरामा भने सत्यता नभएको बताउँछन् । उनले सहमतीबाटै फिल्म छाडेको बताए । 
 
अनमोलले आफूलाई रोल चित्त नबुझे पनि अरु धेरै कलाकारलाई फिट हुने बताए । उनलाई लाग्छ, उक्त रोल प्रदीप खड्का, पल शाह र सलिनमान बनियाँले गर्दा सुहाउँछ । अमेरिका उड्दै गर्दा उनले 'ए मेरो हजुर ३' मा आफ्नो अपोजिटमा रहेकी सुहाना थापाको पनि तारिफ गर्न छाडेनन् । उनी सुहानालाई मेहनती भन्न रुचाउँछन् । 
 
'स्टार किड्स भए पनि झरना दिदी (निर्देशक झरना थापा) ले सुहानालाई एकदमै ट्रेन्ड गराउनुभएको छ । सुहानाले इन्डस्ट्रीमा केही गरुँ भन्ने चाहना बोकेर आएको छ', उनले भने । उनले सुहानाको भविष्य एकदमै राख्ने देख्ने पनि बताए । दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुन लागेको विषयमा पनि उनले मुख खोले । 
 
स्टारडममा धरासायी होला नी ? भन्ने पत्रकारको प्रश्नमा उनी अगाडि भन्छन्, 'मेरो चाहना त होइन दुई फिल्म छोटो अवधिमै रिलिज होस् भन्ने तर रिलिज कहिले गर्ने भन्ने मेरो हातमा हुँदैन । दुई फिल्म छोटै अवधिमै आए पनि मलाई फरक भूमिकामा देख्न पाउनुहुन्छ र दुई फिल्ममा आकाश-जमिनको फरक छ ।'
 
रणवीर सिंहको उदाहरण दिँदै उनले भने, 'रणवीरको अहिले 'सिम्बा' रिलिज भइरहेको छ । अब चाँडै 'गल्ली ब्वाई' रिलिज हुँदैछ । यदी फिल्म राम्रो छ भने समयको अन्तरले अर्थ राख्दैन ।' उनको 'क्याप्टेन' फागुन १७ मा रिलिज हुँदैछ भने 'ए मेरो हजुर ३' चैत २९ मा रिलिज हुन तयारी अवस्थामा छ । 
 
अभिनेत्री सारा सिर्पालीसँग प्रेममा रहेको खबरले हैरान भइरहेका अनमोलले अमेरिका उड्न लाग्दा समेत पत्रकारको यो प्रश्नबाट छुटकारा पाएनन् । मिठो मुस्कान ओठमा बोक्दै उनले सारा साथी मात्र रहेको बताए । 'हामी राम्रो साथी हौं । एकदुई चोटी भेट भएको छ । तर, रिलेसनसिपमा भने छैनौं', उनले भने । 
Most Visited News (monthly)