नयाँ छिमलका चलेका अभिनेतामा अनमोल केसी, प्रदीप खड्कापछि आउने नाम हो पल शाह । म्यूजिक भिडियोबाट लोभलाग्दो 'फ्यान फलोइंग' बनाएका उनले फिल्मबाट पनि 'डाइहार्ट फ्यान' को ठूलो वर्ग बनाएका छन् । अभिनयमा निखारता ल्याउन नसकेको आरोपबाट मुक्त हुन नसकेका उनको नाममा तीन बल्कबस्टर फिल्म छन् ।
उनको डेब्यु फिल्म 'नाइँ नभन्नू ल ४' सुपरहिट साबित भएको थियो, जुन उनको डेब्यु फिल्म थियो । यसपछि 'म यस्तो गीत गाउँछु' हिट भयो । तर, तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' असफल भयो । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'शत्रु गते' भने बल्कबस्टर रह्यो । अब 'वीरविक्रम २' प्रदर्शनको तरखरमा छ ।
तीन सुपरहिट फिल्म दिएका उनको फिल्ममा अचेल जति डिमान्ड छ चर्को पारिश्रमिक बुझ्ने अभिनेताको 'टप फाइभ' लिस्टभित्र पनि अट्छन्, उनी । १८ लाख पारिश्रमिकमा 'वीरविक्रम २' साइन गरेका उनले 'हृदय भरी' गर्न २० लाख बुझेका छन् । यी दुई फिल्म उनले निकै कम समयको अन्तरमा साइन गरेका थिए ।
(1).jpg)
'शत्रु गते' रिलिजको ७ महिनासम्म कुनै फिल्म साइन नगरेका उनले 'वीरविक्रम २' भन्दा अगाडि 'हृदय भरी' साइन गरेका थिए । 'वीरविक्रम २' भने अभिनेता आकाश श्रेष्ठले छाडेपछि उनलाई अप्रोच गरिएको थियो र उनले स्क्रिप्ट हातमा परेको दुई दिनमा फिल्म गर्न तयार भएका थिए । यसको पछाडि धेरै कारण रहेको बताइन्छ ।
केही समय अगाडि फिल्मीखबरसँग कुराकानी गर्दै पलले 'म यस्तो गीत गाउँछु' फेम्ड निर्देशक सुदर्शन थापाको अनटाइटल प्रोजेक्ट गर्न लागेको बताएका थिए । तर, सुदर्शनले यस विषयमा आफूलाई थाहा नभएको बताएपछि पलले पनि कड्किँदै भनेका थिए, 'फिल्म साइन गरेको हुँ, अब गर्न मन छैन भने नगर्नुस् ।'
स्रोतका अनुसार, पलले गर्ने भनिएको फिल्म 'सम्हालिन्छ कहिले मन' थियो । 'म यस्तो गीत गाउँछु' पछि सम्बन्धमा दरार उत्पन्न भएपछि सुदर्शनले पलको ठाउँमा आकाश श्रेष्ठलाई भित्राएको बुझिएको छ । साथै, सुदर्शनले आफ्नो जन्मदिनमा पल र पूजा शर्मालाई लिएर 'म यस्तो गीत गाउँछु २' बनाउने घोषणा पनि गरेका थिए ।
अब यो फिल्म बन्ने वा नबन्ने निश्चित छैन । फिल्म बने पनि पल हुने सम्भावना निकै न्यून रहेको चर्चा छ । तर, पल, सुदर्शन थापासँग सम्बन्ध सन्तुलित रहेको बताउँछन् । 'हृदय भरी' फिल्मको घोषणा सभामा उनले भने, 'हाम्रो दाई-भाईको सम्बन्ध छ । सुदर्शन दाईले 'रामकहानी' पनि अफर गर्नु भएको थियो तर विविध कारणले गर्न सकिनँ ।'
उनले छिट्टै सहकार्य हुने पनि बताए । दुबैको व्यस्तताका कारण सहकार्य हुन नसकेको बताउँदै उनी अगाडि भन्छन्, 'म फ्रि भएको बेला उहाँ हुनुहुन्न र उहाँ फ्रि भएको बेला म हुन्न । यसकारण सहकार्यमा केही ढिलाइ भएको हो । तर, हामीलाई चाँडै एकसाथ देख्न पाउनुहुन्छ ।' उनले 'म यस्तो गीत गाउँछु २' बन्ने पनि ठोकुवा गरे ।
‘ब्याचलर बन्टी’ गर्ने कुरा भएको छैन : पल शाह
लामो चर्चा, परिचर्चाका बीच फिल्म ‘ब्याचलर बन्टी’ बाट अभिनेता अनमोल केसीले सहमतीबाटै हात झिकेपछि अब पल शाह भित्रने प्रवल सम्भावना रहेको चर्चा सुरु भएको छ । कारण, फिल्म 'वीरविक्रम २' को छायांकन सेटमै पुगेर निर्माता सुदीप खड्काले पलसँग फिल्मको विषयमा कुरा गरेको जानकारी प्राप्त छ ।
स्रोतका अनुसार, निर्देशक मिलन चाम्सको नयाँ प्रोजेक्टमा आबद्ध हुने शर्तमा पल 'वीरविक्रम २' गर्न राजी भएका हुन् । अब अनमोलले ‘ब्याचलर बन्टी’ छाडेपछि पलसँग कुरा भइरहेको खबर प्राप्त छ । तर, यसमा कुनै सत्यता नभएको पल बताउँछन् । उनी भन्छन्, 'मिलन दाईसँग 'वीरविक्रम २' गर्ने मात्र शर्त भएको थियो ।'
‘ब्याचलर बन्टी’ गर्ने विषयमा अहिलेसम्म कुनै कुरा नभएको उनले स्पष्ट पारे । उनी भन्छन्, ‘न मिलन दाईसँग अरु फिल्म गर्ने शर्त छ न त ‘ब्याचलर बन्टी’ नै गर्ने कुरा भएको छ ।’ उनले फिल्ममा राम्रो डिमान्ड रहँदा पनि म्यूजिक भिडियो छाड्न नसक्नुको कारण पनि खुलाए । उनी आफ्नो फिल्म हेर्न आउने दर्शक भिडियोकै रहेको बताउँछन् ।
अब म्यूजिक भिडियो नखेल्दा हुन्न र ? भन्ने पत्रकारको प्रश्नको उत्तरमा उनले भने, ‘म भिडियोबाट आएको हुँ । मलाई जतिले चिन्नुहुन्छ भिडियोको माध्यमबाटै चिन्नुहुन्छ । अनि, जसले मलाई चिनायो त्यो कसरी छाड्न सक्छु ! भिडियो मेरो 'जब' हो । यो छाड्न सक्दिनँ ।’ उनले महिनामा एक-दुईवटा छानेर मात्र भिडियो गर्ने गरेको पनि बताए ।

