अन्ततः सुपरस्टार अनमोल केसीले निर्देशक मिलन चाम्सको फिल्म ‘ब्याचलर बन्टी’ बाट हात झिकेका छन् । केही समयदेखि उक्त फिल्म नबन्ने खुबै चर्चा चलेको थियो । तर, गएको हप्ता निर्माता सुदीप खड्का र अनमोलबीच भएको छलफलमा बैशाखबाट छायांकन सुरु गर्ने र भदौमा रिलिज गर्ने सहमती जुटेको थियो ।
आइतबार भने सहमतीबाटै अनमोलले औपचारिक रुपमा फिल्म छाडेका छन् । उनले उक्त फिल्म साइन गर्ने बेला निर्माताबाट प्राप्त १० लाख साइनिङ एमाउन्ट मंगलबार टिमलाई फिर्ता गर्दैछन् । यो फिल्म गर्न उनले ४५ लाख पारिश्रमिक बुझेका थिए । अनमोलले ‘ब्याचलर बन्टी’ छाडेको कुरामा सत्यता रहेको बताए ।
(1)(2).jpg)
फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने, ‘हो, आइतबार फिल्म औपचारिक रुपमा छाडें ।’ उनले फिल्म छाड्नुको कारण प्रस्ट्याउँदै थपे, ‘सुरुमा त मैले उहाँहरुसँग काम गर्ने नै भनेर सोचेको थिएँ । तर, स्टोरी खासै चित्त बुझेन । स्क्रिप्ट नराम्रो भनेको चाहिँ होइन उहाँहरुले राम्रो प्रयास गर्नुभएको छ ।’
फिल्ममा आफू आफ्नो क्यारेक्टरमा फिट नहुने लागेपछि फिल्म छाडेको उनको तर्क छ । अनमोल भन्छन्, ‘जुन क्यारेक्टरमा जति नै प्रयास गरे पनि फिट हुँदिनँ भने त्यो जबरजस्ती रुपमा गर्नु गलत हुन्छ । त्यसैले एग्रिमेन्ट फिर्ता गरेको हुँ ।’ अब अर्को फिल्म केही ग्यापमा साइन गर्ने उनले बताए ।
'यो वर्षका लागि मेरो दुइटा फिल्म छ । 'ब्याक टू ब्याक' फिल्म आउनु पनि राम्रो होइन । अब अर्को फिल्म केही ग्यापमा गर्छु र राम्रो तयारीका साथ गर्ने सोच छ', उनले सुनाए । मंगलबार फिल्म 'ए मेरो हजुर ३' को एक गीतको छायांकनका लागि अमेरिका उड्न लागेका अनमोलले पहिलो पटक साइन गरिसकेको फिल्म छाडेका हुन् ।
यो फिल्ममा उनले उकुसा गिरीसँग रोमान्स गर्ने पक्का भइसकेको थियो । भदौ १३ लाई प्रदर्शन मिति समेत पक्का गरिएको थियो । स्रोतका अनुसार, अब यो फिल्ममा पल शाह हुने प्रवल सम्भावना छ । केही हप्ता अगाडि 'वीरविक्रम २' को सेटमा पुगेर निर्माता खड्काले पललाई फिल्म अफर गरेको चर्चा छ ।

