Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा हिरोइन फकाउँदै हरिहर (फोटोसहित)

फिल्मीखबर, काठमाडौं, 2019/01/07
 
युवा ज्योतिषी हरिहर अधिकारी फिल्म ‘शुभ लभ’ बाट हिरोको रुपमा उदाउँदैछन् । युवा उमेरमा नै ज्योतिष विधामा आफूलाई स्थापित गराइसकेका उनले यस फिल्ममा पनि एक प्रख्यात युवा ज्यातिषकै भूमिका निभाएका छन् । अर्थात् उनको जीवनसँग फिल्म धेरथोर मिल्छ । 
 
 
अधिकारीकै कथामा आधारित यस फिल्मको हाल पोखरामा छायांकन भइरहेको छ । चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको दुई गीत खिच्नमात्र बाँकी रहेको निर्देशक सन्तोषबाबु लोहनीले बताएका छन् । दुईमध्ये अहिले फिल्मको टाइटल गीत खिच्ने काम भइरहेको छ । 
 
 
‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा हरिहरलाई नव-अभिनेत्री क्रिस्टिन पौडेललाई फकाउँदै गरेको देखिनेछ । गीतबारे प्रस्ट्याउँदै निर्देशक लोहनीले फिल्मीखबरसँग भने, ‘सेमिनारका लागि पोखरा पुगेको हिरो (हरिहर) ले रिसाएकी प्रेमिका (क्रिस्टिन) फकाउँदै गरेको दृश्य गीतमा उनेका छौं ।’ 
 
 
गीत खिच्न अझै ३ दिन लाग्नेछ । छायांकन भइरहेको गीतमा निशान भट्टराईको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा हरिहर र क्रिस्टिनलाई कोरियोग्राफर रामजी लामिछानेले नचाइरहेका छन् । फिल्मको एक गीत भने दुबईमा खिचिने निर्देशक लोहनीले बताए । 
 
 
फिल्ममा हरिहर र क्रिस्टिनका अलावा सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्मको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् । 
 
तश्बिर : जक्सन डटकम
Most Visited News (monthly)