अभिनेता कर्मा शाक्य फरक अभिनयका लागि चिनिन्छन् । संख्यात्मक अभिनयभन्दा गुणस्तरमा ध्यान दिने उनी 'लुट' पछि दर्शकको नजरमा परेका थिए । यसपछि उनले करियर फर्किएर हेर्नु परेको छैन । उनी रंगमञ्चबाट फिल्ममा उदाएका अभिनेता हुन् ।
लभर ब्वाईको भूमिकामा अत्याधिक रुचाइएको उनलाई नयाँ फिल्म ‘गरुड पुराण’ मा फरक भूमिकामा देख्न पाइने भएको छ । यसअघि उनले 'झ्यानाकुटी' मा केमियो भए पनि झाँक्रीको भूमिका निभाएका थिए । माघ ४ मा रिलिज हुने ‘गरुड पुराण’ मा भने उनले दुई चरित्र निभाएका छन् ।

यसमा उनी २५ वर्षे तन्नेरी र ६० वर्षिय बढ्यौली भूमिकामा छन् । उनले निभाएको बढ्यौली भूमिका भने फिल्ममा धेरै लामो छैन । निर्माण टिमले फिल्म रिलिजको बेला सार्वजनिक गरेको तश्बिरमा कर्मालाई बुढ्यौली गेटअपमा चिन्न गाह्रो पर्छ । निर्देशक सुवास कोइरालाले कर्माको दोहोरो भूमिकाबारे प्रकाश पारेका छन् ।
‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर, युवा भूमिका निर्वाहा गर्न जति सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूर्ण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन्’, उनले भने । कर्मा भने फिल्ममा आफ्नो पौढ भूमिका नभए पनि सेटमा मेकअप गर्दैगर्दा जन्मिएको बताउँछन् ।
उनी यो फिल्मबाट निकै आशावादी छन् । उनी भन्छन्, 'मलाई लभस्टोरीभन्दा कमेडी फिल्म गर्न निकै मन लाग्छ । ‘गरुड पुराण’ मा हँसाउने प्रयास गरेको छु ।' फिल्ममा कर्मा र नाजिर हुसेन लिड रोलमा छन् । लुनिभा तुलाधर, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, प्रकाश घिमिरे, जान्ह्वी बोहोरालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ ।

