
२० लाख पारिश्रमिकमा अभिनेता पल शाहले साइन गरेको नयाँ फिल्म ‘हृदय भरी’ का लागि लिड अभिनेत्री फाइनल गरिएको छ । ‘वितेका पल’ फेम्ड निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गर्ने यस फिल्ममा पलले पहिलो पटक नयाँ अभिनेत्रीसँग काम गर्दैछन् ।

श्रद्धा क्षेत्री (सारा) सँग उनले उक्त फिल्ममा रोमान्स गर्न लागेका हुन् । श्रद्धा लामो समयदेखि भारतमा बसेर मोडलिङ गर्दै आइरहेकी छिन् । यो फिल्मबाट उनले डेब्यु गर्न लागेकी हुन् । हालै फिल्म ‘हृदय भरी’ का लागि उनी काठमाडौं ओर्लिएकी छन् ।

यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिँदैछ । माघ पहिलो साताबाट छायांकन सुरु हुने बताइएको फिल्मको केही हप्ता अगाडि मुहूर्त गरिएको थियो । फिल्मको कथा निर्देशक सुब्बा स्वयंले लेखेका हुन् ।

शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’ लाई चन्दन शाह र सौरभ बिश्वासले संयूक्त रुपमा निर्माण गर्नेछन् । गत बर्ष ‘नाल्बो’ निर्देशित फिल्म ‘रातो घर’ प्रदर्शनमा आएको थियो । घोषणा सभामा पल र श्रद्धा फिचर पोस्टर पनि निर्माण टिमले सार्वजनिक गर्दैछ ।
फिल्ममा श्रद्धासँगै अभिनेत्री रेखा लिम्बु पनि फाइनल भएको बुझिएको छ । उनले दर्जन बढी म्युजिक भिडियो र केही फिल्ममा काम गरिसकेकी छन् । उनी अभिनीत 'तारेभीर' फिल्म प्रदर्शनमा आइसकेको छ भने मल्टिस्टारर फिल्म 'एउटा यस्तो प्रेम कहानी' मा पनि उनले अभिनय गरेकी छन् ।

