फिल्ममा प्रवेश गर्नु अगाडि अभिनेत्री शिल्पा पोखरेलको म्युजिक भिडियोमा राम्रो डिमान्ड थियो । महँगो पारिश्रमिक लिन्थिन् । हप्तैपिच्छे टिभी/युट्युवमा छाउँथिन् । शहरिया युवापुस्ताका मोवाइलमा उनले अभिनय गरेका गीतका भिडियोहरु छ्याप-छ्यापी भेटिन्थे । तर, उनको खुसी गीतको भिडियोमा लिप्सिङ गर्नुमा मात्र थिएन । मनमा ठूलो पर्दामा जम्ने रहर लटरम्म फल्न थालेका थिए ।
अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि बाघ निर्माता छविराज ओझा आफ्नो नयाँ फिल्मका लागि हिरोइनको खोज्नु र शिल्पा फिल्म गर्ने तयारीमा रहनु गजबको संयोग जुर्यो । झट्ट हेर्दा रेखाजस्तै देखिने शिल्पालाई छविराजले फिल्म 'लज्जा' मा अभिनेता आर्यन सिग्देलको हिरोइन बनाए । पछिल्लो रिलिज फिल्म 'मंगलम' सम्म आइपुग्दा भने उनीहरु रियल जोडी नै बनिसकेका छन् ।
 (2).jpg)
उनीहरुले गएको दुई वर्ष अगाडि गोकर्ण रिसोर्टमा गुपचुप रुपमा बिहे गरेको चर्चा छ । छविराजकी पूर्वपत्नी तथा अभिनेत्री रेखाले त उनीहरुको बिहे भइसकेको ठोकुवा नै गरेकी छन् । यद्यपि, यो कुरा छविराज र शिल्पा स्विकार गर्न तयार छैनन् । केही दिनयता भने उनीहरुबीच सम्बन्ध ठिकठाक नभएको चर्चा सुरु हुन थालेको छ । हालै शिल्पाको 'बर्थडे' मा छविराज उपस्थित नभएपछि यो कुरालाई थप मसला मिलेको छ ।
शिल्पाको प्रमुख भूमिका रहेको छविराज प्रोडक्सनबाट निर्मित पछिल्ला फिल्म 'लज्जा', 'किस्मत २', 'हवल्दार सुन्तली' र 'मंगलम' बक्सअफिसमा हिट साबित भएका थिए । तर, उनले अभिनय गरेका बाहिरी ब्यानरका फिल्म भने कुनै हिट हुन सकेका छैनन्, जसकारण अचेल उनलाई 'छविराज प्रोडक्सनकी मात्र हिट हिरोइन' भन्न थालिएको छ ।
बाहिरी ब्यानरका उनी अभिनीत फिल्म 'फागु', 'विरांगना', 'हामी शरणार्थी', 'वृन्दावन' ले बक्सअफिसमा पानी समेत भन्न पाएका थिएनन् । फिल्म छनोटमा चुजी नहुँदा उनले आफ्नो साख गुमाउँदै गएको कतिपयको आरोप छ । छविराज प्रोडक्सनको चार हिट फिल्ममा अभिनय गरेर पनि गिनेचुनेका बाहिरी ब्यानरको आँखामा पर्न सकेको छैन उनीमाथि । यसको प्रमुख कारण उनी फिल्म छनोटमा चलाख नहुनुलाई नै मानिएको छ ।
अब उनको नयाँ फिल्म ‘भिलेन’ पुष २७ गतेबाट प्रदर्शनमा आउने तरखरमा छ । यसमा उनी लिड रोलमा छिन् । फिल्ममा लिड रोलमा छन् एक्सन स्टार निखिल उप्रेती पनि । तर, उनको जोडी शिल्पा नभइ अभिनेत्री निशा अधिकारीसँग बाँधिएको छ । शिल्पाले नव-नायकसँग रोमान्स गरेकी छन् । देवेन्द्र पाण्डे फिल्मका निर्देशक हुन् ।
 (3).jpg)
निशा अमेरिका र निखिलले फिल्मप्रति कुनै चासो नदेखाउँदा अभिनेत्री शिल्पाले भने प्रचार-प्रसारमा पर्याप्य समय निकालिरहेकी छन् । यसको पछाडि उनको पनि स्वार्थ छ । किनकि, यो फिल्मले उनको फ्लप यात्रामा 'ब्रेक' लगाउन सक्छ । उनलाई बाहिरी ब्यानरको फिल्ममा पनि हिट हुनुछ । र, उनी यस फिल्मलाई लिएर विश्वस्त छिन् । यसमा उनी चौधरी परिवारको छोरीको भूमिकामा छिन् ।
एक्सन अवतारमा निकै रुचाइएकी उनले फिल्म ‘भिलेन’ बाट दर्शकले आफूलाई फरक हिसाबले चिन्नेमा आशावादी रहेको बताइन् । सञ्चारकर्मीसँगको एक भेटमा उनी भन्छिन्, 'यो फिल्मले मायाको कथा बोल्छ । यसपाली दर्शकले फिल्मबाट नयाँ टेस्ट पाउनुहुन्छ भन्ने लाग्छ ।' उनले आफ्नो फिल्म करिअर मजवुत बनाउन ‘भिलेन’ ले एउटा इट्टा थप्ने विश्वास व्यक्त गरिन् ।

