
बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जिरो’ उनको करियरको सबैभन्दा ठूलो बजेटको फिल्म बताइएको थियो । यसको बजेट २ सय करोड थियो, तर बक्सअफिसमा फिल्मले आफ्नो लागतको आधा पनि निकाल्न असमर्थ रहेको छ ।
फिल्मको दुई हप्ते कलेक्सन सार्वजनिक भएको छ । ‘जिरो’ ले अहिलेसम्म कुल ८९ करोड २५ लाख कमाएको छ । न्यू ईयरको दिन समेत यो फिल्मले मात्र १ करोड २५ लाख कमाएकोे थियो । यसलाई शाहरुखको ठूलो फ्लप भन्न थालिएको छ ।
अहिलेसम्मको कलेक्सन हेरेर ‘जिरो’ ले सय करोडको आँकडा छुन सक्छ वा सक्दैन भन्न मुश्किल छ । फिल्ममा शाहरुख र अनुष्का शर्मा फिजिकली च्यालेन्ज्ड पर्सनको भूमिकामा थिए, जसलाई देखेर अनुमान गरिएको थियो कि फिल्मले राम्रो कमाई गर्नेछ । तर, फिल्मले दर्शकलाई रिझाएन ।
बक्सअफिस इन्डियाको रिपोर्टका अनुसार, दोस्रो हप्तामा ‘जिरो’ को कमाईमा भारी गिरावट आएको छ । शुक्रवार फिल्मको कमाई १ करोडभन्दा कम रह्यो । करीब ८५ लाख कमाएको बताइएको छ । फिल्मले शनिबार एक करोड कमायो भने आइतवार १ करोड २५ लाख कलेक्सन गर्यो ।
फिल्मले दोस्रो विकेन्डमा मात्र ३ करोड ९० लाख कमाएको छ । फिल्मले पहिलो हप्ता ८४ करोड १० लाख कमाएको थियो । यो कमाई पनि फिल्मको बजेटको हिसाबले अत्यन्त कम हो । दोस्रो विकेन्डमा फिल्मलाई 'सिम्बा' रिलिजका कारण ठूलो नोकसान भएको थियो ।

