.jpg)
अहिलेका ‘हटकेक’ पल शाहले फिल्म ‘शत्रु गते’ रिलिजको करीब ७ महिनापछि साइन गरेको फिल्म हो ‘वीरविक्रम २’ । फिल्मको पछाडि झुण्डिएको २ अंकझैं उनले यो फिल्म स्क्रिप्ट पढेको दुई दिनमा साइन गरेका थिए । कारण, अभिनेता आकाश श्रेष्ठले फ्लोरमा जानुभन्दा केही दिन अगाडि उक्त फिल्मबाट हात झिकेका थिए ।
उनले फेसबुकमा स्टाटस लेखेर हजुरबुबा विरामी भएको कारण फिल्म गर्न नसकेको र निर्देशक मिलन चाम्ससँग भविष्यमा काम गर्ने बताएका थिए । यद्यपि, उनले उक्त फिल्म छाडेको केही सातामा सुदर्शन थापाको 'सम्हालिन्छ कहिले मन' साइन गरे । आफ्नो भागको सिन काटेपछि उनले ‘वीरविक्रम २’ छाडेको बताइन्छ ।
पहिलो पटक कुनै अभिनेताले छाडेको फिल्म गर्न राजी भएका पलले स्क्रिप्ट चित्त बुझेपछि काम गर्न तयार भएको बताएका छन् । बिहीवार फिल्म ‘वीरविक्रम २’ को गीत सार्वजनिक कार्यक्रममा उनले गएको ७ महिनामा कुनै चित्त बुझ्दो स्क्रिप्ट नआएको पनि खुलाए । भन्छन्, ‘‘वीरविक्रम २’ भने छाड्न सकिनँ । किनकि, स्क्रिप्ट मैले खोजेजस्तै थियो ।’’
उनले आकाशलाई फिल्म छाडेकोमा ‘धन्यवाद’ पनि थिए । ‘वीरविक्रम २’ पछि लगातार अन्य फिल्ममा पनि लिने शर्तमा पल, चाम्ससँग सहकार्य गर्न तयार भएको चर्चा छ । तर, यो कुरा नकार्छन् उनी । उनी भन्छन्, ‘यो फिल्म राम्रो भयो भने अरु फिल्ममा पनि सहकार्य हुनसक्छ । तर, लगातार फिल्म गर्ने शर्त चाहिँ छैन ।’

‘श्राप दिन्छु’ : मिलन चाम्स
निर्देशक मिलन चाम्स चलेका निर्देशक होइनन् । उनी निर्देशित कुनै फिल्मले बक्सअफिसमा आजसम्म सुनाउन लायक अंक जोड्न सकेका छैनन् । तर, उनको दैनिकी हेर्दा लाग्दैन उनी 'बल्कबस्टर' फिल्म लिने निर्देशकभन्दा कम व्यस्त छन् । अहिले पनि उनको पाइपलाइनमा ५ बढी फिल्म छन् ।
नेपालमा दर्ता भएको चाम्स इन्टरटेन्मेन्ट र यूकेमा दर्ता भएको लण्डन सिने आईको ब्यानरबाट उनी भटाभट फिल्म निर्माण गर्दै आइरहेका छन् । केही वर्षमा निर्देशनबाट सन्यास लिने बताउँदै आएका उनको प्रदर्शनमा आउन बाँकी फिल्म 'वीरविक्रम २' हो भने चाँडै छायांकनमा जाने तरखरमा 'ब्याचलर बन्टी' र 'बोबी २' छ ।
विन्दास बोल्ने निर्देशक चाम्स कसैमाथि तिखो प्रहार गर्न टाउको कन्याउँदैनन् । मनको कुरा निर्धक्क बोल्छन् । यसैले त बेलाबखतमा उनको अभिव्यक्तिले ठूलै रुप धारण गर्ने गरेको छ । फिल्म ‘वीरविक्रम २’ को गीत सार्वजनिक कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका उनको अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ ।
.jpg)
उनले पटक-पटक आफ्नो बारेमा भाम्रक हल्ला फिजाउने सबैलाई ‘श्राप दिन्छु’ भन्दै कार्यक्रम अवधिभर चिच्याइरहेका थिए । ‘मेरो र मैले गर्न लागेका फिल्मको बारेमा भ्रामक हल्ला फैलाउने सबैलाई ‘श्राप दिन्छु’ । मैले दिएको त श्राप लाग्छ नी फेरि’, उनी कड्किए । उनले ‘वीरविक्रम २’ आकाशले छाड्नुको कारण पनि खुलाए ।
‘तपाईको फिल्म छाडेको केही हप्तामा आकाशले अर्को फिल्म साइन गर्नुभयो नी ?’ भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै उनी भन्छन्, ‘भित्री कुरा के थियो त्यो आकाशलाई नै थाहा होला तर ‘वीरविक्रम २’ उहाँले हजुरबुबा विरामी भएका कारणले नै गर्न नसक्नु भएको हो । अरु कारण मलाई थाहा छैन ।’
उनले आकाशलाई लक्षित गर्दै नेपाली फिल्म क्षेत्रमा राजनीति धेरै नै हुने गरेको पनि बताए । उनी भन्छन्, ‘आकाशको हजुरबुबा सिकिस्त विरामी भएको फोटो मलाई प्राप्त भएको थियो र उहाँको ममीले पनि फोन गरेपछि मैले त्यो कुरा मान्ने वा नमान्ने भन्ने हो । तर, जे हुन्छ राम्रोकै लागि हुन्छ ।’

