गएको चार वर्षयता नेपाली फिल्ममा अभिनेता अनमोल केसीको दबदबा छ । लगातार उनी अभिनीत पाँच फिल्म बक्सअफिसमा सफल हुँदा उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकको कमी छैन । साथै, उनको फिल्म रिलिज हुने डेटमा अरु फिल्म समेत भिड्न डराउँछन् ।
करीब ३ वर्ष अगाडि फिल्म 'ड्रिम्स' सँग एकसाथ प्रदर्शनमा आएको फिल्म 'फूलै फूलको मौसम तिमीलाई' ले बक्सअफिसमा पानी समेत भन्न पाएको थिएन । यसकारण पनि सकभर निर्माताहरु अनमोलको छाँया पर्ने मितिमा आफ्नो फिल्म प्रदर्शन गर्न चाहँदैनन् । भित्तामा टाँस्ने पोस्टरको पैसा समेत नउठ्ने डर उनीहरुमा देखिन्छ ।
.jpg)
अब भने निर्माताको डर, शक्तिमा परिणत हुँदै गएको भान हुन थालेको छ । किनकि, यस वर्ष अनमोलका दुई फिल्म 'क्याप्टेन' सँग 'दि ब्रेकअप' र 'ए मेरो हजुर ३' सँग 'यात्रा' रिलिज हुँदैछन् । यस्तै, अर्को वर्षको भदौ १३ मा नयाँ फिल्म ‘ब्याचलर बन्टी’ सँग ‘मारुनी’ आउने निश्चित भएको छ ।
मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘ब्याचलर बन्टी’ को बुधबारमात्र प्रदर्शन मिति घोषणा गरिएको हो । बुधबार नै एफडी कम्पनी र निर्मात्री पुनम गौतमबीच भदौ १३ मा ‘मारुनी’ ल्याउने लिखित सम्झौता भएको छ । यो डेटमा विकासराज आचार्यको 'हजार जुनीसम्म' पनि आउन चर्चा छ ।
‘मारुनी’ मा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्पल खड्काको लिड रोल रहने छ । नवल नेपालले निर्देशन गर्ने फिल्मको छायांकन माघ दोस्रो साताबाट सुरु हुँदैछ भने ‘ब्याचलर बन्टी’ को बैशाखबाट सुरु हुने बताइएको छ । अनमोलसँग नव-नायिका उकुसा गिरीले रोमान्स गर्दैछिन् ।
रोचक कुरा के छ भने फिल्म 'ड्रिम्स' बाट अभिनेत्री साम्राज्ञीले नेपाली फिल्ममा पाइला राखेकी थिइन्, जसमा अनमोल हिरो थिए । अब यी दुई पहिलो पटक बक्सअफिसमा आमने-सामने हुने भएका छन् । दुईको महायुद्धमा कसको पल्ला भारी हुने हो ? धेरैका लागि चासोको विषय बनेको छ ।

