आफ्नो जमनाका चार सुपरस्टार राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र रमित ढुंगाना पहिलो पटक एकसाथ क्यामेराको फ्रेममा अटेका छन् । पछिल्लो समय अभिनय यात्राबाट केही टाढा देखिएका चारै सुपरस्टारको भेट केही दिन अगाडि नेपालगञ्ज विमानस्थलमा भएको हो । उनीहरुको भेट हुनु संयोग मात्र थियो वा अन्य कारण त्यो भने खुल्न सकेको छैन ।
.jpg)
काम विशेषले नेपालगञ्ज पुग्ने क्रममा चार अभिनेताको एयरपोर्टमा जम्काभेट भएको बुझिएको छ । भेटपछि उनीहरुले विमानस्थलको विशिष्ट कक्षमा सामुहिक तश्बिर खिचाएका छन् । तश्बिरमा उनीहरुलाई खुसी मुद्रामा देख्न सकिन्छ । रोचक कुरा के छ भने एक समयका कडा प्रतिस्पर्धी अभिनेता द्वय निखिल र विराज झण्डै एक दशकपछि एकसाथ एउटै फ्रेममा अटेका हुन् ।
मोवाइलको क्यामेरामा कैद भएको तश्बिर अभिनेता विराजले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेका छन् । तश्बिरसँगै क्याप्सनमा उनले अभिनेता हमाललाई आफ्नो 'गुरु' भनेका छन् भने निखिल र रमितलाई साथी भनेर सम्बोधन गरेका छन् । वर्षौदेखि 'कोल्ड वार' चलिरहेको चर्चाका बीच निखिल र विराजको जम्काभेटले उनीहरुको सम्बन्ध सुध्रिएको प्रष्टिन्छ ।
जम्काभेट भएका चार अभिनेतामध्ये राजेश, विराज र रमितले 'हामी ट्याक्सी डाइभर', 'डर' नामक फिल्ममा एकसाथ काम गरेका थिए । राजेश र विराजले 'दादागिरी', 'कवच' लगायतका फिल्ममा सँगै काम गरेका थिए । विराज र रमितले भने साथमा 'दुर्गा', 'सहारा', 'हिम्मत', 'देवर बाबु' गरेका छन् । रमित र राजेशलाई फिल्म 'जीवनदाता' मा साथ देखिएको थियो ।
यस्तै, अभिनेताद्वय राजेश र निखिलले 'निखिल दाई', 'दशगजा', 'चोर सिपाही', 'कानुन', 'निशाना', 'दोबाटो' लगायतका फिल्ममा साथ काम गरेका थिए । 'जीवन मृत्यु', 'बरमाला' लगायतका फिल्ममा निखिल र रमितको जोडी थियो । प्रतिस्पर्धी दुई हिरो विराज र निखिल भने 'दोस्ती', 'खलनायक', 'अग्नी ज्वाला' फिल्ममा आमने-सामने भएका थिए ।
.jpg)
एकअर्कासँग काम गरिसकेका कारण चार अभिनेतालाई फेरि पर्दामा एकसाथ हेर्ने व्यग्रता र आतुरता दर्शकको मनमा छ । चार सुपरस्टारको जम्काभेट हुनुले उनीहरुबीच सहकार्य नै नहोला भन्न चाहिँ सकिन्न । तर, के अनमोल/प्रदीपको युगमा पुराना अभिनेतालाई लिएर कुनै निर्माता/निर्देशक जोखिम उठाउन तयार होलान् ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
पछिल्ला रिलिज दुई फिल्म 'बागमती' र 'सकुन्तला' बक्सअफिसमा असफल भएपछि अभिनेता हमालले केही समयका लागि फिल्मबाट ब्रेक लिएका छन् । बरु उनी चाँडै टिभीमा देखिँदैछन् । विराज भने आफ्नै निर्देशनमा चाँडै नयाँ फिल्म 'सांग्लो' बनाउँदैछन् । उता, निखिल 'भैरव २' को तयारीमा छन् । रमित भने के गर्दैछन्, कसैलाई अत्तोपत्तो छैन ।

