गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ मा अभिनेता अनमोल केसीको अपोजिटमा देखिएकी अभिनेत्री अदिती बुढाथोकीलाई बलिउडको निकै ठूलो प्रोजेक्ट हात परेको छ । उनी इन्डियन-अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा देखिने भएकी छन् । बलिउड फिल्ममा प्रवेश गर्न कसरतरत उनलाई अब यो वेब सिरिजले ठूलो सहयोग गर्नेछ ।
सिरिजको निर्माण फरहान अख्तर र रितेश सिधवानीले आफ्नो ब्यानर एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडबाट गर्दैछन् । अदितीले चर्चित वेब सिरिजमा आबद्ध हुनु पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताएकी छन् । उनले भनेकी छन्, 'अब दर्शक प्रतिक्रिया बुझ्न निकै आतुर छु ।'

'यो वेब सिरिज मेरो लागि निकै खास छ । मलाई फरहान सरको कामसँग निकै लगाव छ र उहाँको प्रोडक्सनको सदस्य भएर काम गर्नु मेरो प्रगतिको एउटा टिकट हो', उनले एक अन्तर्वार्तामा भनेकी छन् । अदितीले मिलिन्द गाबाको पञ्जाबी गीत 'मैं तेरी हो गई' को म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।
बलिउड अभिनेता विवेक ओबरोय पनि क्रिकेट सम्बन्धि वेब श्रृंखला 'इनसाइड एज' को दोस्रो सिरिजमा छन् । 'इनसाइड एज २' को कहानी क्रिकेट र त्यसको अँध्यारो पक्षको वरिपरि घुम्छ, जसमा व्यवसायको दुनियाँ, ग्ल्यामर, मनोरञ्जनको दुनियाँ र यसको आसपास हुने राजनीति सामेल छ ।
सोमवार मात्र अभिनेत्री अदितीले 'भैरे' निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ फिल्म 'हेल्लो जिन्दगी' गर्न लागेको खबर बाहिरिएको थियो । यस विषयमा भने दुवै पक्षले कुनै जानकारी दिएका छैनन् । फिल्म 'कृ' रिलिजपछि अदिती मुम्बईमा बस्दै आइरहेकी छन् ।

