केही हप्ता अगाडि सार्वजनिक भएको 'कन्टेन्ट यूक्त' ट्रेलरका कारण अभिनेता विपिन कार्की स्टारर फिल्म ‘गोपी’ यतिबेला चर्चामा छ । विदेश मोह त्यागेर स्वेदेशमै गाई पालन गरेर बसेको एक युवकको संघर्ष र सफलताको कथा प्रस्तुत गरेकाले फिल्मप्रति दर्शकमा कौतुहलता बढेको छ ।

माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो गीत सार्वजनिक गरिएको छ । 'लक्ष्मी कहिले काली...' गीतले फिल्मको राम्रो हाइप निर्माण गर्दैगर्दा निर्माण टिमले 'तेरो आफ्नो...' बोलको गीत सोमवार युट्युब रिलिज गरेको छ ।
गीतमा चर्चित गायक शिव परियारको स्वर छ । विप्लव प्रतिकको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । भिडियोमा विपिन बाइक चलाउँदै गाई पाल्दाका रमाइलो र कठिन पल सम्झिँदै भावुक देखिएका छन् । निर्देशक दीपेन्द्र लामाका अनुसार, फिल्ममा उक्त गीत ‘थिम सङ’ का रुपमा प्रयोग गरिएको छ ।
फिल्ममा विपिनको अपोजिटमा अभिनेत्री द्वय बर्षा राउत र सुरक्षा पन्त छन् । यसमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको पनि अभिनय छ । आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् ।
सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । फिल्मले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने बताइएको छ ।
गीत हेर्नुहोस् :-

