
फिल्म ‘बाहुबली’ मा ‘भल्लालदेव’ को भूमिका निभाएपछि चर्चामा आएका तेलगु अभिनेता राणा दग्गुबाती अब बलिउड फिल्म ‘हाउसफुल ४’ मा देखिँदैछन् । पटकथा लेखक-निर्देशक फरहाद समजीले फिल्ममा खतरनाक भूमिकामा राणालाई देख्न पाइने बताएका छन् । उनले अभिनेता नाना पाटेकरको ठाउँ लिएका हुन् ।
अभिनेत्री तनुश्री दत्ताले यौन उत्पीडनको आरोप लगाएपछि अभिनेता पाटेकर फिल्मबाट बाहिरिएका थिए । राणाले मुम्बईमा नोभेम्बरबाट छायांकन सुरु गरेका छन् । फरहादले फिल्मको बारेमा भने, 'उसको भूमिकाको बारेमा अहिले नै कुरा गर्दा हतार हुनसक्छ । उनी फिल्ममा खतरनाक भूमिकामा छन् ।'
यसमा अभिनेता अक्षय कुमार, रितेश देशमुख र बबी देओल पनि प्रमुख भूमिकामा छन् । फिल्ममा राणालाई मात्र कसैको ठाउँमा राखिएको होइन, अक्टोबरमा यौन उत्पीडनको आरोप लागेपछि साजिद खानले पनि निर्देशकको पद छाड्नु परेको थियो ।
‘हाउसफुल ३’ को निर्देशन साजिद समजी र फरहाद समजीले गरेका थिए । फिल्ममा सोलो निर्देशक भएका कारण हुने दबावको बारेमा फरहाद भन्छन्, 'यदी यसमा तीन निर्देशक भएको भए पनि दबाव हुन्थ्यो । र, एक्लै हुँदा पनि दबाव छ । ठूलो फ्रेन्चाइजी भएका कारण दबाव हुन्छ नै ।' यो फिल्म दिपावलीमा रिलिज हुँदैछ ।

