निर्देशक निश्चल बस्नेत ‘लुट २’ पछि निर्देशनमा फर्किएका छैनन् । अर्को वर्षसम्म फिल्म निर्देशन गर्ने सोचमा नभएका उनलाई अहिले फिल्ममा अभिनय गर्नै भ्याइनभ्याइ छ । फिल्ममा जति व्यस्तता बढ्दैछ पारिश्रमिक पनि उत्तिकै चर्को बन्दैछ उनको । हालै उनी अभिनीत फिल्म ‘प्रसाद’ प्रदर्शन भएको थियो ।
उता, स्वस्तिमा खड्का अभिनेत्रीमा अहिलेकी 'हटकेक' हुन् । निश्चलसँग विवाह गरेपछि उनको फिल्म करिअर लोभलाग्दो बनेकोे छ । एउटा फिल्मको छायांकन नसकिँदै अचेल उनी अर्को फिल्ममा अनुबन्ध भइसकेकी हुन्छिन् । हाल उनी फिल्म विकासराज आचार्यको 'हजार जुनीसम्म' मा व्यस्त छिन् ।
(1).jpg)
रियल जोडी निश्चल र स्वस्तिमालाई लिएर धेरै निर्माता/निर्देशकले फिल्म बनाउन चाहे पनि त्यो सफल हुन सकेको छैन । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'दुई रुपैयाँ' को 'कुटुमा कुटु' गीतमा दुईले ठुक्का लगाएका थिए तर फिल्ममा उनीहरु जोडीको रुपमा थिएनन् । दुईलाई रियलझैं रिलमा पनि जोडीको रुपमा हेर्न दर्शक निकै आतुर छन् ।
अब दर्शकको इच्छा निर्देशक हेमराज विसीले पूरा गर्दैछन् । निश्चल र स्वस्तिमालाई प्रमुख भूमिकामा लिएर उनले एक फिल्म बनाउने भएका छन् । गएको महिना एक प्रोजेक्टमा अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधेका विसीले अब रियल जोडीलाई आफ्नो नयाँ फिल्ममा प्रस्तुत गर्दैछन् ।
फिल्मको नाम ‘घामट शेरे’ जुराइएको छ । यस फिल्ममा निश्चल अनुबन्ध भए पनि स्वस्तिमा भएकी छैनन् । 'हजार जुनीसम्म' को छायांकनका लागि उपत्यका बाहिर भएका कारण काठमाडौं फिरे लगत्तै उनले फिल्म साइन गर्ने फिल्मका एक सदस्यले जानकारी दिएका छन् । माघ पहिलो साताबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
यस फिल्मका लागि निश्चलले २० लाख पारिश्रमिक बुझेको सिनेवृतमा चर्चा छ । निर्देशक हेमराज आफू निर्देशित नयाँ फिल्म 'दि ब्रेकअप' रिलिजभन्दा अगाडि नै ‘घामट शेरे’ को छायांकन सक्ने तयारीमा रहेको बुझिएको छ । प्रदर्शन मिति भने अर्को वर्षको बैशाख अन्तिममा गर्ने पूर्वतयारी भइरहेको छ ।

