अभिनेत्री बेनिशा हमालको हातमा करीब ६ महिनादेखि कुनै प्रोजेक्ट छैन । एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदा उनलाई लिएर निर्माता/निर्देशक जोखिम मोल्न चाहेको देखिँदैन । गत वर्ष उनका दुई फिल्म रिलिज भएका थिए 'झ्यानाकुटी' र 'ब्ल्याइन्ड रक्स' । दुबै फिल्म बक्सअफिसमा असफल भएका थिए ।
'झ्यानाकुटी' मा गाउँकी एक विवाहित महिलाको भूमिका निर्वाहा गरेकी उनले 'ब्ल्याइन्ड रक्स' मा दृष्टिबिहीन सृष्टि केसीको भूमिका निभाएकी थिइन् । दुई फिल्ममा उनको कामको प्रशंसा भएको थयो । 'ब्ल्याइन्ड रक्स' बाट यस वर्ष उनले केही फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी छन् ।
(1).jpg)
भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्ने दौडमा रहेकी उनले हालै नयाँ फिल्म ‘टुल्की’ साइन गरेकी छन् । यो फिल्म बहुपति प्रथामा आधारित हुनेछ । लक्ष्मण सुनारले फिल्म निर्देशन गर्दैछन् । फिल्ममा बेनिशाले पाँच श्रीमानको श्रीमतीको भूमिका निभाउँदैछिन् ।
एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम छ । निर्देशक सुनारले फिल्ममा बेनिशा नै फिट हुने भएकाले अनुबन्ध गरेको बताए । माघ १५ बाट फिल्मको छायांकन सुरु हुँदैछ ।
निर्देशक सुनारकै कथा रहेको फिल्म द पाल्मा ग्रुप र काफिया मिडियाको ब्यानरमा बन्न लागेको हो । शेखर लामा र हरिकुमार श्रेष्ठले फिल्मलाई संयूक्त रुपमा निर्माण गर्नेछन् । डोल्पामा छायांकन हुने फिल्मलाई रोहित विक्रम कार्कीले खिच्नेछन् । बाँकी कलाकार भने चाँडै छनोट गरिने निर्देशकले बताए ।

