अभिनेता अनमोल केसीले २४ घण्टाको अन्तरमा ५०/५० लाख पारिश्रमिक लिएर साइन गरेको फिल्म हो 'ए मेरो हजुर ३' र 'ब्याचलर बन्टी' । असोजबाट सुरु भएको झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर ३' को अहिले अन्तिम चरणको छायांकन भइरहेको छ भने मिलन चाम्सले निर्देशन गर्ने 'ब्याचलर बन्टी' को अझै अत्तोपत्तो छैन ।
निर्देशक चाम्सले फिल्मको रिलिज डेट फ्लोरमा जानु अगाडि नै घोषणा गरेका थिए । असोज ३० गतेबाट छायांकन सुरु गर्ने र फागुन १७ मा रिलिज गर्ने उनले घोषणा गरेका थिए । तर, अनमोलले झरनाको फिल्म अगाडि गर्ने निर्णय लिएपछि निर्देशक चाम्सको केही सिप चलेन । र, पाइपलाइनमा रहेको फिल्म 'वीरविक्रम २' सुरु गरे ।
.jpg)
अब ‘ब्याचलर बन्टी’ ले घोषणा गरेको डेटमा अनमोलको नयाँ फिल्म 'क्याप्टेन' रिलिज हुँदैछ । यस्तै 'ए मेरो हजुर ३' चैत अन्तिममा रिलिज हुने फाइनल भइसकेको छ । अनमोल 'ए मेरो हजुर ३' को छायांकन भ्याएपछि ‘ब्याचलर बन्टी’ गर्ने तयारीमा थिए । तर, केही दिनयता सिनेवृतमा सुनिएको चर्चालाई आधार मान्ने हो भने उनले अहिले फिल्म गर्न आनाकानी गरिरहेका छन् ।
अनमोलले फिल्मका लागि फाइनल भएकी हिरोइन उकुसा गिरी र 'लक' भएको स्क्रिप्टमा चित्त बुझाएका छैनन् । हिरोइन त अनमोललाई जानकारी नै नदिई टिमले फाइनल गरेको खबर छ । स्रोतका अनुसार, हिरोइन र स्क्रिप्ट परिवर्तन गरे मात्र अनमोल फिल्म गर्ने अडानमा छन् । तर, यो मान्न निर्देशक चाम्स तयार छैनन् । जसकारण अब फिल्म बन्ने वा नबन्ने अन्योल सृजना भएको छ ।
हालै 'वीरविक्रम २' को पहिलो सेड्युल पूरा गरेर काठमाडौं फिरेका निर्देशक चाम्स ‘ब्याचलर बन्टी’ तत्काल नबन्ने भएपछि ‘बोबी २’ तिर लागेका छन् । चैत दोस्रो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ । शनिबार फिल्मको राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । उमेश थापा र कविता गुरुङको रियल स्टोरीमा फिल्म बन्न लागेको हो ।
फिल्मको घोषणा सभामा निर्देशक चाम्सले 'वीरविक्रम २' र ‘बोबी २’ को बारेमा पटक-पटक जानकारी दिए तर ‘ब्याचलर बन्टी’ को नाम उनले एकपटक उच्चारण गरेनन् । घोषणा भइसकेको फिल्मको नाम लिन किन गाह्रो ? निर्देशक चाम्समाथि पत्रकारले प्रश्न गरे । उनले अनमोल र आफ्नो व्यस्तताका कारण फिल्म तत्काल सुरु गर्न नसकिएको बताए ।
‘‘ब्याचलर बन्टी’ बन्ने क्रममा नै छ । म टाइममा एकदमै स्ट्रिक छु । मेरो सेड्युलमा 'वीरविक्रम २' पहिलै थियो र बीचमा मैले ‘ब्याचलर बन्टी’ गर्ने भएँ । अनि मेरो सेड्युल लथालिङ्गै भयो । ‘ब्याचलर बन्टी’ को छायांकन तत्काल सुरु नहुने भएपछि मैले 'वीरविक्रम २' सुरु गरें’’, उनी भन्छन् । उनले 'बोबी २' पछि ‘ब्याचलर बन्टी’ बन्ने सम्भावना रहेको बताए ।
.jpg)
निर्देशक चाम्स भन्छन्, 'फिल्म तत्काल नबने पनि ४/५ वटा अनटाइटल प्रोजेक्ट मेरो पाइपलाइनमा छन् त्यो बनाउँछु । किनकि, मैले अरुलाई वचन दिइसकेको छु ।' ‘ब्याचलर बन्टी’ सुरु गर्न अनमोल र आफ्नो टाइम मिल्नु पर्ने उनी बताउँछन् । उनी भन्छन्, 'जहिले दुवैको टाइम मिल्छ तब बनाउँछौं ।'
फिल्म ‘बोबी २’ को घोषणा सभामा निर्देशक चाम्सले ‘ब्याचलर बन्टी’ बन्ने वा नबन्ने स्पष्ट बताउन नसक्नुले अनेकौं आशंका उब्जिएका छन् । उनले 'दुवैको टाइम मिलेपछि मात्र निर्माण गर्ने' र ‘‘बोबी २’ पछि ‘ब्याचलर बन्टी’ नबने पाइपलाइनमा रहेका ४/५ फिल्म गर्छु’’ भन्नुले यो फिल्म अब थन्किएको स्पष्ट बुझ्न सकिन्छ । दर्शकमा भने फिल्म बन्ने आशा जीवितै छ ।

