 (1).jpg)
रियल जोडीको रियल कथामा निर्माण भएको ‘बोबी’ यस वर्षको असार २९ गते प्रदर्शनमा आएको हिट फिल्म हो । प्रदर्शनको पहिलो हप्ता कमजोर व्यापार गरे पनि दोस्रो हप्ताबाट फिल्मले बक्सअफिसमा 'पिकअप' लिएको थियो ।
मिलन चाम्स निर्देशित उक्त फिल्ममा रियल जोडी उमेश थापा र कविता गुरुङकै अभिनय थियो । यस फिल्मको 'आँखाको नानीभित्र...' गीत अझै पनि निकै लोकप्रिय छ ।
.jpg)
अब उक्त फिल्मको दोस्रो पार्ट निर्माण हुने भएको छ । फिल्मको नाम ‘बोबी २ : बाँकी कथा’ राखिएको छ । यसमा पनि रियल जोडीकै अभिनय रहने छ । शनिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।
फिल्मलाई मिलन चाम्सले नै निर्माण र निर्देशन गर्नेछन् । चैत दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ ।
.jpg)
पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । उनी भन्छन्, 'परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा फिल्म केन्द्रित हुनेछ ।' उनी थप्छन्, 'पहिलो पार्टले इमोसनल गरेको थियो । 'बोबी २' ले प्रेरणा दिनेछ ।'
 (3).jpg)
फिल्ममा उमेश र कवितासँगै विजय लामाको अभिनय रहनेछ । 'बोबी' मा अभिनेता लामाले कविताको अंकलको भूमिका निभाएका थिए । ५० प्रतिशत नर्वेमा छायांकन हुने फिल्मको नेपालमा भने पोखरा र काठमाडौंमा हुनेछ ।
नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथामा ढालेका छन् । 'बोबी' मा पनि दुवैको पटकथा लेखन थियो । ‘बोबी २’ को डिओपीमा सुदीप बराल फाइनल भएका छन् ।
.jpg)
चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने फिल्मको सिनेमेट्रोग्राफरमा नवराज उप्रेती रहने छन् । बनिश शाहले सम्पादन गर्ने फिल्म अर्को वर्षको मध्यान्तरमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।
फिल्मको घोषणा सभामा उमेशले आफ्नो कथाले गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसहरु 'इन्स्पायर्ड' भए आफूहरुको मेहनत सफल भएको मान्ने बताए ।
 (2).jpg)
कार्यक्रममा छोरासहित उपस्थित कविताले भने उमेशको कथा पर्दामा हेर्न आफू पनि आतुर रहेको बताइन् । उनले भनिन्, 'उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको कुरा सुनाउदा म निकै भावुक हुन्छु । अब त्यो सबै कुरा पर्दामा आउँदैछ, म निकै उत्साहित छु ।'

