मह सञ्चारले निर्माण गर्ने हास्य टेलिसिरियलमा लामो समय सहायक निर्देशक भएर काम गरेका निर्देशक प्रदीप भट्टराई अहिलेका स्थापित फिल्म निर्देशक हुन् । उनले निर्देशन गरेको पहिलो फिल्म 'जात्रा' ले बक्सअफिसमा सानदार कमाई गरेको थियो । यो फिल्मले उनलाई कमेडी फिल्म निर्माणमा शक्तिशाली साबित गर्यो ।
डेब्यु फिल्म हिट भएपछि उनलाई थुप्रै प्रतिष्ठित ब्यानरबाट फिल्म निर्देशनको अफर नआएका होइनन् । तर, वर्षौदेखि बरिष्ठ कलाकार द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको छत्रछाँयामा रहर आफूलाई निखार्दै लगेका उनले सोही टिमको फिल्म 'शत्रु गते' निर्देशन गर्ने जिम्मेवारी सम्हाले । दोस्रो फिल्मले पनि सफलता चुम्यो ।
अहिले उनलाई निर्देशक लिएर फिल्म बनाउन चाहने निर्माताहरुको भीड ठूलै छ । उनले निर्देशन गरेका फिल्मले दर्शक रिझाउन सक्छन् भन्ने आत्मविश्वास उनीहरुमा छ । निर्देशक भट्टराई आफ्नो निर्देशन रहने फिल्मको कथा आफैं तयार पार्ने गर्दछन् । अहिले उनी २ वर्ष अगाडिको हिट फिल्म 'जात्रा' को सिक्वेल 'जात्रै जात्रा' मा व्यस्त छन् ।
अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएपछि अहिले फिल्मको छायांकन एक महिनाका लागि रोकिएको छ । फागुन १७ मा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिएता पनि विपिनका कारण निर्माण टिमले रिलिज पोस्टपोन्ड गरेको छ । अब यो फिल्म यस वर्ष रिलिज हुन्छ वा हुँदैन ? अन्योलमा छ ।
.jpg)
प्रदीप भट्टराई (निर्देशक)
यसबीच केही हप्ता अगाडि निर्देशक प्रदीपले अहिलेका 'हटकेक' अनमोल केसीलाई लिएर फिल्म बनाउन लागेको खबर एककान दुईकान हुँदै मिडियाको कानसम्म पुगेको थियो । फागुन १७ मा 'क्याप्टेन' सँग 'जात्रै जात्रा' रिलिज हुने भएपछि निर्माता भुवन केसीले निर्देशक भट्टराईलाई ‘‘जात्रै जात्रा’ सार अनमोलले तिम्रो फिल्म गर्छ’’ भनेर लोभको जाल फ्याकेको सिनेवृतमा चर्चा सुनिन्छ ।
अन्ततः दुई फिल्मको भिडन्त टर्यो पनि । धेरैले दुई फिल्मको भिडन्त टर्नुको प्रमुख कारण प्रदीप र अनमोलबीच सहकार्य हुन लाग्नुलाई नै मानेका छ । विपिनका कारण 'जात्रै जात्रा' को रिलिज पोस्टपोन्ड हुनु देखावटी मात्र रहेको चर्चा छ । अनमोलसँग फिल्म गर्न निर्देशक भट्टराईको दबाबमा 'क्याप्टेन' सँग 'जात्रै जात्रा' नजुधाइएको बताइन्छ ।
तर, प्रदीप यो कुरामा कुनै सत्यता नभएको बताउँछन् । उनी लामो हाँसो हाँस्दै भन्छन्, 'हामी त अझै फागुन १७ मै फिल्म ल्याउन सकिन्छ कि भनेर सोचिरेहका छौं । मेरो कारणले फिल्मको रिलिज डेट कसरी पोस्टपोन्ड हुन्छ ? म निर्माता होर ? म विरामी भएको छु र ?' उनले विपिनका कारण पूर्वघोषित मितिमा फिल्म आउन नसकेको बताए ।
भुवन केसीको फ्याकेको जालमा फस्नुभयो भन्ने चर्चा छ नी ? फिल्मीखबरसँगको प्रश्नमा उनी भन्छन्, 'बजारमा चल्ने र चलाइने हल्लाको पछाडि नलाग्नुस् । म कसैले फ्याकेको जालमा फस्ने मान्छे होइन । हो, अनमोलसँग फिल्म गर्ने विषयमा कुरा भइरहेको छ । तर, अनमोलसँग फिल्म गर्नकै लागि मेरो दबाबमा 'जात्रा जात्रा' सारेको होइन ।'
उनले अनमोल र आफूलाई फिट हुने स्क्रिप्ट तयार भएको खण्डमा टिमअप हुनसक्ने पनि बताए । उनले अनमोलसँग फिल्म गर्ने विषयमा भने, 'कुरा भइरहेको त छ तर पहिला स्क्रिप्ट तयार हुनुपर्यो । स्क्रिप्ट हामी दुवैलाई मन परेको खण्डमा टिमअप हुनसक्छ ।' उनी निर्माता भुवन केसीसँग फिल्मको विषयमा केही पटक कुरा भएको बताउँछन् ।

