बलिउड सुपरटार आमिर खान पारिश्रमिक लिएर फिल्ममा काम गर्दैनन् । उनी मुनाफमा काम गर्ने अभिनेता हुन् । फिल्म हिट भएपछि मुनाफाको करीब ३० प्रतिशत निर्माण कम्पनीले उनलाई छुट्याउने गर्दछ । अभिनेता द्वय सलमान खान र शाहरुख खानले भने पारिश्रमिकसँगै केही प्रतिशत मुनाफा लिने शर्तमा फिल्म गर्ने गरेका छन् ।
तीन खानलाई फलो गर्दै अहिले बलिउडमा चलेका धेरै स्टार्सहरुले मुनाफामा काम गर्ने संस्कार बसाल्दै गएको छ । यो आफैंमा ठूलो जोखिम हो । फिल्म हिट भए बैंक ब्यालेन्स बलियो हुन्छ नभए वर्षदिनको मेहनत 'बालुवामा पानी हाले' सरह हुन्छ । फिल्म फ्लप भए कलाकारले एक रुपैयाँ पाउँदैनन् । तर, घाटा बेहोर्नु पनि पर्दैन ।
.jpg)
नेपालमा भने चलेका कलाकारहरु लाखौं पारिश्रमिक लिएर फिल्ममा काम गर्ने गर्दछन् तर मुनाफामा काम गर्ने जोखिम अहिलेसम्म कसैले उठाउन सकेका छैनन् । फिल्म फ्लप भए चिया खाने पैसा पनि आउँदैन भन्ने डरले उनीहरु महंगो पारिश्रमिक बुझेर मात्र फिल्म गर्दै आइरहेका छन् ।
तर, हास्यकलाकार दीपकराज गिरी भने अपवाद बनेका छन् । लगातार पाँच फिल्म सुपरहिट दिएका उनी अर्को वर्ष दुई नयाँ फिल्म नयाँ नाममा बनाउँदैछन् । तर, बाहिरी ब्यानरसँग सहकार्य गरेर । 'गाजलु' निर्माता रोहित अधिकारी र 'भद्रगोल' टिमसँग मिलेर दीपकराजले फिल्म बनाउन लागेका छन् ।
दुबै फिल्ममा उनको न एक रुपैयाँ लगानी हुनेछ न त पारिश्रमिक नै लिनेछन् तर फिल्म हिट भएको खण्डमा मुनाफाको ५० प्रतिशत उनले लिने शर्त छ । दुबै फिल्ममा अभिनय, कथा तथा पटकथा उनको हुनेछ । फिल्म फ्लप भएको खण्डमा भने उनको हातमा एक रुपैयाँ पर्ने छैन । मेहनत बेकार जानेछ ।
पाँच फिल्मबाट कमाएको लोकप्रियतामाथि भरोसा गरेर उनी यो जोखिम मोल्न तयार भएको बुझिएको छ । उनको यो 'एक्पेरिमेन्ट' कति सफल हुनेछ ? त्यो भने हेर्न बाँकी छ । तर, उनले मोलेको जोखिम अहिलेका 'स्टार-सुपरस्टार' भनिने कलाकारहरुले पनि मोल्न आवश्यक रहेको कतिपयको भनाई छ ।

