अहिलेकी 'हटकेक' स्वस्तिमा खडकाको लिड रोल रहेको फिल्म ‘बुलबुल’ घोषणको बेलादेखि नै चर्चामा छ । कारण, यसमा उनले पहिलो पटक टेम्पो ड्राइभरको भूमिका निभाएकी छन् । आफूले पाएको भूमिकालाई न्याय गर्न उनी दुरुस्तै टेम्पो ड्राइभरको गेटअपमा देखिएकी छन्, जुन टिजर र गीतमा पनि देख्न सकिन्छ ।
गीत र टिजर सार्वजनिक भएपछि अहिले फिल्मका अर्का कलाकार मुकुन भुषालको चर्चा सुरु हुन थालेको छ । केही दिनअघि सार्वजनिक छोटो टिजरबाटै उनको अभिनयले धेरैको ध्यान खिचेको छ । उनी फिल्ममा 'चोपेन्द्र' नामक पात्रको भूमिकामा छन् ।

मुकुन नेपाली फिल्मका लागि विल्कुलै नयाँ अनुहार हुन् । उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो,नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए ।
उनले अध्ययनका क्रममा दर्जनौं छोटा फिल्ममा अभिनय गरेपनि ठूलो पर्दाको फिल्म भने ‘बुलबुल’ नै पहिलो हो । फिल्मको गीत र टिजरमा उनले देखाएको अभिनयले नेपाली फिल्ममा एउटा उम्दा कलाकार प्रवेश भएको निर्देशक विनोद पौडेल बताउँछन् । उनले मुकुनले चोपेन्द्रलाई आफूले कल्पे जसरी नै उतारेको बताए ।
‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हुँ । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने, ‘ मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’
टिजर हेरेर कुनै कलाकारको मुल्यांकन गर्नु गलत हुनसक्छ । फिल्ममा गरेको अभिनय कति उम्दा छ ? त्यो महत्वपूर्ण हो । मुकुनले टिजरबाट सम्भावना त देखाएका छन् तर त्यो नै उनका लागि सफलता भने होइन । फिल्ममा गरेको अभिनयबाट उनले प्रशंसा बटुल्न जरुरी छ । उनी अभिनीत ‘बुलबुल’ फागुन ३ मा रिलिज हुँदैछ ।

