Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

लुक्स लुकाउन आर्यनलाई सकस

फिल्मीखबर, काठमाण्डौ, 2018/12/25
नेपाली कलाकारहरु फिल्मका लागि बनाएको लुक्स सकभर लुकाउन चाहन्छन् । फिल्म रिलिज अगावै लुक्स सार्वजनिक हुँदा दर्शकमा उनीहरुले निभाएको भूमिकाप्रति कौतुहलता नरहन सक्छ । यसकारण चलेका कलाकारहरु फिल्मका लागि बनाएको भिन्न लुक्स मिडियामा सार्वजनिक गर्ने आँट गर्दैनन् । 
 
तर, लुक्स लुकाउन जति उनीहरु लुकामारी गर्दछन् त्यति नै देखाउनका लागि पनि खसखस भइरहन्छ । नभए अभिनेता आर्यन सिग्देललाई नै हेर्नुहोस् । अहिले उनी फिल्म 'हजार जुनीसम्म' को छायांंकनमा व्यस्त छन् । विकासराज आचार्यको निर्देशन रहेको यसमा उनी एक पिताको भूमिकामा देखिँदैछन् । 
 
एक आइटम गीत राजधानीमा खिचेपछि अहिले पोखरामा फिल्मको केही महत्वपूर्ण सिन खिच्ने काम भइरहेको छ । यसमा आर्यनको जोडीको रुपमा अभिनेत्री प्रियंका कार्की देखिँदैछिन् भने उनको छोराको भूमिकामा डेब्यु ब्वाई अक्की प्रधान छन् । उनको जोडी भने अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । 
 
 
यो फिल्ममा लागि अभिनेता आर्यनले लुक्स परिवर्तन गर्न निकै मेहनत गरेका छन् । प्रायः हल्ला दाह्री र कपालमा देखिने उनलाई अहिले सजिलै ठम्याउन मुश्किल पर्छ । १३ लाखको आसपासमा पारिश्रमिक बुझेका उनले फिल्मका लागि दाह्री र कपाल निकै लामो बनाएका छन् । दाह्री र कपालको रंग हल्का सेतो छ । 
 
दशैंभन्दा अगाडिदेखि फिल्मका लागि निकै मेहनतले बनाएको लुक्स उनले पटक-पटक फेसबुकमार्फत् सार्वजनिक गरिसकेका छन् । तर, केही दिन अगाडि फिल्मको एक गीत खिच्ने क्रममा उनले लुक्स 'रिभिल' नगर्ने भन्दै मिडियाका क्यामेराबाट तर्किए । उनी भन्दै थिए, 'फिल्ममा नै हेर्दा मज्जा आउँछ ।' 
 
मिडियाका क्यामेरामा कैद हुन नचाहे पनि उनको लुक्स हेर्ने दर्शकको चाहना भने अधुरै रहेको छैन् । हाल पोखराको 'क्विन्स् पार्क होटल' मा बसिरहेका उनको लुक्स होटलका सञ्चालकहरुले नै फेसबुकमार्फत् सार्वजनिक गरिदिएका छन् । उनको स्वागतमा होटलले केक काटेको छ, जुन तश्बिर होटलको आधिकारिक फेसबुकमा भेटिन्छ । 
 
होटलले स्वागतमा केक काटेपछि उनले सञ्चालकहरुसँग तश्बिर खिचाएका छन्, जहाँ उनको परिवर्तित लुक्स स्पष्ट रुपमा देख्न सकिन्छ । मिडियाका क्यामेरामा कैद नहुन विरालो देखेर प्वालमा मुसो लुकेझैं लुकेका उनलाई अहिले अरुबाट लुक्स लुकाउन भने निकै सकस भइरहेको छ । हेरौं, अझै उनले फिल्मका लागि बनाएको लुक्स लुकाउन कति संघर्ष गर्नेछन् ?
Most Visited News (monthly)