'इन्टु मिन्टु लण्डनमा' बाट डेब्यु गरेका अभिनेता धिरज मगर र 'लिलिबिली' बाट उदाएकी अभिनेत्री जसिता गुरुङ पूर्व प्रेम-प्रेमिका रहेको खबर केही दिन अगाडि फिल्मीखबरले 'ब्रेक' गरेपछि धेरै अचम्मित भएका छन् । तर, यस विषयमा दुईले मुख खोलेका छैनन् । यूकेबासी दुईको यूकेमा नै मिलन र विछोड भएको खबर छ ।
अचेल अभिनेता प्रदीप खड्कासँग प्रेममा रहेको खबरले लाइमलाइटमा रहेकी जसिता 'यूके डान्स २०१७' की विजेता हुन् । उक्त कार्यक्रमको ग्रान्ड फिनाले धिरजले होस्ट गरेका थिए । स्रोतका अनुसार, यो कार्यक्रमभन्दा अगाडि नै दुईको ब्रेकअप भइसकेको थियो ।
उक्त कार्यक्रममा कोरियोग्राफर रेनशा वान्तवा राई निर्णायक थिइन् । अब पूर्व प्रेम-प्रेमिकालाई लिएर निर्देशक राई नयाँ फिल्म 'आई एम ट्वान्टिवान' बनाउने कसरतमा छिन् । यसअघि 'इन्टु मिन्टु...' मा धिरजसँग अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधिएको थियो । अब नयाँ फिल्ममा जसिता हुने प्रवल सम्भावना छ ।

अहिले रेनशा र धिरज यूकेमा फिल्म 'इन्टु मिन्टु...' को प्रदर्शनका लागि छन् भने जसिता पनि केही दिन अगाडि मात्र पुगेकी थिइन् । नेपालमै रहँदा रेनशाले जसितालाई फिल्म अप्रोच गरेकी थिइन् । तर, सहमती जुट्न सकेको थिएन । अहिले यूकेमा लगातार छलफल भइरहेको छ ।
हालै यूकेमा भएको फिल्म 'इन्टु मिन्टु...' को प्रदर्शनमा जसिता पनि फिल्म हेर्न पुगेकी थिइन्, जहाँ उनले निर्देशक रेनशा र अभिनेता धिरजसँग तश्बिर खिचेकी थिइन् । उनले पूर्व प्रेमी धिरजसँग खिचेको तश्बिर फिल्मीखबरलाई प्राप्त भएको छ ।
प्राप्त तश्बिरमा जसिता खुसी मुद्रामा देखिएकी छन् तर धिरज उनीसँग एकसाथ तश्बिर खिच्न असहज महशुस गरिरहेको देख्न सकिन्छ । जे भए पनि दुई पूर्व प्रेम-प्रेमिका रहेको खबर बाहिरिरहँदा पहिलो पटक सँगै क्यामेरामा एउटै फ्रेममा अट्नुले अब यो जोडीलाई पर्दामा देखिने सम्भावना बढेको छ ।
हालै अभिनेत्री जसिताले फिल्मीखबरसँग अनलाइन कुराकानी गर्दै फिल्म साइन गरिनसकेको बताएकी छन् । उनले भनेकी छन्, 'रेनशा म्याम अहिले यूकेमा हुनुहुन्छ । लगातार फिल्मको विषयमा कुरा भइरहेको छ । तर फिल्म गर्ने फाइनल भइसकेको छैन ।' रेनशाले भने मौखिक सहमती भइसकेको बताइसकेकी छन् ।

