Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपक-दीपा र ‘गाजलु’ निर्माताबीच टिमअप

फिल्मीखबर, काठमाण्डौ, 2018/12/24
अहिलेका शक्तिशाली फिल्ममेकर्स हुन् दीपकराज गिरी र दीपाश्री निरौला । '६ एकान ६', 'वडा नम्बर ६' र 'छक्का पञ्जा' का तीनै सिरिज 'बल्कबस्टर' दिएका उनीहरु अब नयाँ फिल्मको तयारी जुटेका छन् । यस वर्ष प्रदर्शनमा आएको 'छक्का पञ्जा ३' को सफलतापछि उनीहरु अर्को वर्षका लागि नयाँ नाममा फिल्म निर्माण गर्दैछन् । 
 
गएको तीन वर्षदेखि दीपक-दीपा टिमले 'छक्का पञ्जा' का सिरिज निर्माण गर्दै आइरहेका थिए । यसपटक नयाँ नाममा नयाँ ब्यानरसँग सहकार्य गरेर फिल्म बनाउँदैछन् । यो टिमसँग ‘गाजलु’ निर्माता रोहित अधिकारीले सहकार्य गर्ने भएका छन् । चैत अन्तिम साताबाट फ्लोरमा जाने गरि अहिले स्क्रिप्टमा काम भइरहेको छ ।  
 
कथा तथा पटकथा दीपकराज गिरीको रहने फिल्म रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा बन्नेछ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, फिल्ममा निर्माता अधिकारीको एकल लगानी रहनेछ । तर, मुनाफाको ४० प्रतिशत शेयर दीपक-दीपाले लैजाने सहमती भएको स्रोत बताउँछ । 
 
 
तर, उनी ४० नभइ ५०/५० प्रतिशत शेयर बाँडिने बताउँछन् । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, 'लगानी एकल भए पनि शेयर बाँडफाँड बराबर नै हुन्छ । मुनाफाको बाँडफाँड दुवै टिमलाई ५०/५० प्रतिशत हुनेछ ।' उनले फिल्मलाई दीपाश्रीले निर्देशन नगर्ने पनि स्पष्ट पारे । उनी भन्छन्, 'निर्देशक फाइनल भइसक्नु भएको छ । चाँडै सरप्राइज दिन्छौं ।' 
 
स्रोतका अनुसार, दीपकराजले फिल्म निर्देशन गर्नेछन् । रोहित यो कुरामा पनि सत्यता नभएको बताउँछन् । उनी भन्छन्, 'कथा र पटकथा उहाँको हो । प्रमुख अभिनय पनि उहाँको नै हुनेछ । तर निर्देशन उहाँले गर्नुहुन्न ।' उनका अनुसार, फिल्ममा दीपकराज र केदार घिमिरे कलाकारको रुपमा फाइनल भइसकेका छन् । 
 
अहिले फिल्मका लागि अभिनेत्रीको खोजी भइरहेको छ । फिल्ममा नयाँ वा चलेका अभिनेत्री जो पनि हुनसक्ने निर्माता अधिकारीले बताए । निर्माता अधिकारीसँग सहकार्य गर्न लागेको कुरा निर्माता तथा कलाकार दीपकराजले पनि स्विकार गरेका छन् । फिल्मको नाम भने गोप्य राखिएको छ । 
Most Visited News (monthly)