गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् ।
यस्ता धेरै स–साना अबोध बालिकाहरु बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकार नै गुमाउन पुगेका छन् । यिनै कहालीलाग्दो घटनाक्रमसँग नजिक रहेर 'पञ्चायत' निर्देशक शिवम अधिकारीले नयाँ फिल्म ‘कोपिला’ बनाउने भएका छन् । एक १३ वर्षीया बलात्कृत बालिकाको कथामा फिल्म बन्न लागेको हो ।
.jpg)
आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको छ । कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलले मुहूर्त सट दिएका थिए । सञ्जिवनीले बलात्कृत बालिकाको भूमिका निभाउँदै छिन् । ८० लाखमा निर्माण हुने फिल्मलाई पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन् ।
उनलाई लगानीमा करुणकर घिमिरेले सघाएका छन् । गणेश गिरी फिल्मको प्रस्तुतकर्तामा छन् । सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको यस फिल्ममा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सह-निर्माताको रुपमा रहेका छन् । निर्देशक अधिकारीले फिल्म समाजभित्र घटिरहेका घटनामा आधारित रहेको बताए ।
उनी भन्छन्, ‘‘पञ्चायत’ जस्तैजस्तै हो ‘कोपिला’ पनि । मात्र परिस्थिति र परिवेश फरक हो । वर्षौदेखि बलात्कारको घटनाहरु घटिरहेका छन् । यही संवेदनशिल विषयमा केन्द्रित रहेर फिल्म बनाउन लागेका हौं । फिल्ममार्फत् यस्तो गर्यौं भने बलात्कारको घटना रोक्न सकिन्छ भन्ने हामीले एउटा दृष्टिकोण बनाएका छौं ।’
.jpg)
फिल्ममा सरिता, गणेश र सञ्जिवनीसँगै ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको अभिनय रहनेछ । रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत फिल्ममा रहनेछ । चितवन आसपासमा फिल्मको छायांकन गरिनेछ ।

