गत वर्ष प्रदर्शनमा आएको चकलेटी हिरो रमेश उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’ बक्सअफिसमा हिट साबित भयो । यस फिल्मबाट प्रशान्त ताम्राकारलाई खलनायकमा सर्वाधिक रुचाइएको थियो । भने, अभिनेत्री दीपिका प्रसाइँलाई नेपाली फिल्म क्षेत्रले उदाउँदो ताराको रुपमा हेरेको थियो । फिल्मको 'तिमी रोएको पल...' गीत पनि उस्तै हिट भएको थियो ।
यस फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका थिए । यही फिल्मबाट निर्देशक भट्टराई र अभिनेत्री दीपिकाले एकअर्कालाई जीवनसाथीको रुपमा पाएका थिए । यो फिल्म कलाकार, निर्मातादेखि निर्देशकसम्मलाई विभिन्न कोणबाट लक्की साबित भएको थियो । निर्देशकले जीवनसाथी पाए भने कलाकारले सफलता हात पारे ।
 copy(1).jpg)
अब यस फिल्मको सिक्वेल बन्ने भएको छ । तर, तत्काल होइन । जल शाहकी आमा प्रेमा शाहको प्रथम स्मृति सभामा उपस्थित अभिनेता तथा निर्माता उप्रेतीले ‘ऐश्वर्य’ को सिक्वेलको विषयमा मिडियाकर्मीसँग कुराकानी गरे । उनी भन्छन्, 'सिक्वेल त बन्छ तर तत्काल खोजेजस्तो कथा नै भेटिएन । यसैले केही समयलाई पोस्टपोन्ड गरेको छु ।'
उनी अहिले एक नयाँ फिल्मको तयारीमा छन् । नाम गोप्य राखिएको फिल्मको स्क्रिप्टमा काम भइरहेको उनले बताए । यसका लागि उनले केही महिना अगाडि दाह्री निकै लामो बनाएका थिए । तर, फिल्मको कथामा केही परिवर्तन भएपछि उनले दाह्री काटेका छन् । उनी भन्छन्, 'अब फेरि दाह्री पाल्दैछु ।' अर्को वर्षबाट फिल्मको छायांकन हुनेछ ।
एकसमय नेपाली फिल्ममा उनको निकै बोलवाला थियो । एकसेएक बम्पर हिट फिल्म उनको नाममा थिए । तर, अकास्मात अमेरिका हानिएपछि उनी करीब एक दशक काँचको पर्दामा टाढा रहे । तर, मनमा अभिनयको हुटहुटीले उनी पुनः नेपाली फिल्ममा फर्किए र ‘ऐश्वर्य’ बनाए, जसमा उनकै लिड रोल थियो ।
‘ऐश्वर्य’ को सिक्वेलमा पुनः निर्देशकमा दीवाकर, हिरोइनमा दीपिका र भिलेनमा प्रशान्त दोहोरिएलान् वा बाई-बाई होलान् ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

