डेब्यु फिल्म 'ड्रिम्स' को सफलताले अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल र रियल जीवनमा कायापलट नै भयो । तर, सबैको भाग्य उनको जस्तो हुन्छ भन्ने छैन । कतिलाई जति फिल्म गरे पनि 'हातमा लाग्यो शून्य' झैँ हुन्छ । कति फिल्म हिट भएर पनि गुमनाम पथमा छन् । यसैले भनिएको होला- फिल्म क्षेत्र भाग्य बलियो हुनेका लागि मात्र हो ।
एउटा उदाहरण नै लिनुस् न- अभिनेत्री सारा सिर्पाली । चलेका कलाकारसँग काम गरिन् तर सफलतासँग अहिलेसम्म उनले गर्लम्म अंगालो हाल्न पाएकी छैनन् । उनको करिअर अझै अन्योलतामा छ । संख्यात्मक हिसाबले तीन फिल्म गरिसकिन् तर कसैले उनको फिल्मी करिअरको कठिन यात्रामा सहजीकरणको भूमिका खेल्न सकेनन् ।
एक्सन स्टार निखिल उप्रेतीको अभिनय र निर्माण रहेको फिल्म 'रुद्र' बाट उनले डेब्यु गरेकी थिइन् । एक समय उनीसँग काम गरेपछि हिरोइनको भाग्य बदलिन्छ भनिन्थ्यो । तर, साराले त्यो महशुस नै गर्न पाइनन् । फिल्म बक्सअफिसमा नराम्रोसँग चिप्लियो । डेब्यु फिल्मबाट हिट हुने सपना उनको सपनै रह्यो ।
.jpg)
यसपछि फेरि उनलाई निखिलले 'पिंजडा ब्याक अगेन' मा आफ्नो जोडीको रुपमा दोहोर्याए । दोस्रो फिल्मबाट उनको सुन्दरता र कामको प्रशंसा जोडतोडले भयो तर फिल्म चलिदिएन । फेरि पनि उनको हिट हिरोइन हुने सपना शिशाझैँ टुट्यो । दुई फिल्म 'ब्याक टू ब्याक' फ्लप हुँदा उनीमाथि ठूला ब्यानरको आँखा पर्न सकेन न त दर्शकमाझ नै राम्रोसँग चिन्न सक्ने बनिन् ।
निखिल क्याम्पबाट बाहिरिन आवश्यक रहेको चर्को आवाजपछि उनले निर्देशक सुव्रत आचार्यको फिल्म 'सुश्री सम्पत्ति' साइन गरिन्, जसमा निखिल हिरो थिएनन् । अभिनेता द्वय सलोन बस्नेत र विनोद न्यौपानेसँग उनको जोडी बाँधियो । अहिले यो फिल्म प्रदर्शन भइरहेको छ तर बक्सअफिस कलेक्सन सुनाउन लायक छैन ।
फिल्ममा उनको रोल निकै छोटो छ । फस्ट हाफसम्म उनको छाँया पनि देखिँदैन । मध्यान्तरपछि बल्लतल्ल झुल्किन्छिन् तर स्क्रिन स्पेस पर्याप्त छैन । तर, जति छ उनले आफ्नो बेष्ट भने दिएकी छन् । फिल्ममा सारा भएकै कारण हल पुग्ने दर्शक भने नराम्रोसँग विच्किएका छन् । भूमिका अन्यन्त कमजोर भएको दर्शक गुनासो छ ।
यो फिल्मले पनि अपेक्षाकृत व्यापार नगरिदिँदा उनलाई अभिनेत्रीको रुपमा स्थापित हुन थप सकस सृजना भएको छ । तर, यो फिल्मले उनलाई एउटा कोणबाट भने ठूलै राहत दिलायो । फिल्म रिलिजको संघारमा रहँदा उनको नाम अहिलेका हटकेक हिरो अनमोल केसीसँग जोडियो ।
तीन फिल्म गरेर पनि नपाएको चर्चा अहिले उनको अनमोलसँग नाम जोडिँदा भएको छ । फिल्मीखबरमा प्रकाशित प्रेम प्रसंगको एक समाचारले उनीप्रति चासो राख्ने प्रशंसकको संख्या निकै ठूलो भएको छ । तर, अनमोलसँग नाम जोडिनु नै त सफलता नहोला ? आखिर कहिले होला साराको हिट हिरोइन हुने सपना पूरा ?

