वर्ष २०१७ मा आएको अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’ ले बक्सअफिसमा सानदार कमाई गरेको थियो । फिल्मलाई क्रिटिक्स र दर्शकले निकै मनपराएका थिए । अब फिल्मको सिक्वेल बन्ने कुरा छ । पहिला फिल्मको सिक्वेल बने इरफान हुने बताइएको थियो ।
तर, अब उनको विरामीका कारण उक्त प्रोजेक्टको कास्टिङलाई लिएर संशय उत्पन्न भएको छ । मिडिया रिपोर्ट्सका अनुसार, ‘हिन्दी मिडियम’ को सिक्वेलमा शाहरुख खान र काजोल देवगन देखिन सक्नेछन् । दुई एक्टर्सले स्क्रिप्ट रिडिङ सुरु गरेका छन् । अब दर्शकको फेभरेट जोडीले फिल्म गर्छन् वा गर्दैनन् ? हेर्न बाँकी छ ।

पछिल्लो पटक शाहरुख र काजोल 'दिलवाले' मा देखिएका थिए । यसलाई रोहित शेट्टीले निर्देशन गरेका थिए । फिल्म बक्सअफिसमा औसत साबित भएको थियो । यसमा वरुण धवन र कृति सेनन पनि मुख्य भूमिकामा थिए । यसअघि शाहरुख र काजोलले जोडीका रुपमा ९ फिल्ममा अभिनय गरेका छन् ।
केही समय अगाडि ‘हिन्दी मिडियम’ को सिक्वेलमा इरफान खानसँग सारा अली खान पनि हुने खबर बाहिरिएको थियो । सारा, इरफानको छोरीको रोल गर्ने बताइएको थियो । तर, विरामीका कारण इरफानले अहिले फिल्मबाट दूरी बनाएका छन् । उनी लण्डनमा न्यूरो इन्डोक्राइन ट्यूमर नामक विरामीको उपचार गराइरहेका छन् ।
केही हप्ता अगाडि इरफान निजी कारणले भारत आएका थिए । उनी दुई दिनका लागि आएका थिए र नासिक स्थित त्र्यम्बकेश्वर मन्दिरमा भगवान शिवको पूजा गरेका थिए । यसपछि उनी पुनः उपचारका लागि लण्डन फर्किए । अर्को वर्षको मार्चसम्म इरफान काममा फर्किने डाक्टरले बताएका छन् ।

