.jpg)
कति अभिनेत्रीहरु फिल्म नपाएर निर्माता/निर्देशकको बाटो हेरेर बसेका छन् । अभिनेत्री वर्षा सिवाकोटीको हकमा भने उल्टो छ । उनले साइन गरेका केही फिल्म पनि छाडिसकेकी छन् । 'रानी महल', 'गोपी' र 'मेरो पैसा खोइ ?' उनले छाडेका फिल्म हुन् । फिल्म 'नाइँ नभन्नू ल २' बाट डेब्यु गरेकी थिइन् उनले ।
एकपछि अर्को फिल्म बक्सअफिसमा असफल भएपनि अभिनेत्री सिवाकोटीको अभिनय यात्रामा त्यसले कुनै असर पुगेको देखिन्न । उनको हातमा प्रायः फिल्म परिरहेका हुन्छन् । हाल उनी विग बजेटको फिल्म 'वीरविक्रम २' मा व्यस्त छिन् । यसमा अभिनेता द्वय पल शाह र नाजिर हुसेन हिरो छन् ।

मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको फिल्मको अहिले हिमाली क्षेत्रमा छायांकन भइरहेको छ । यो फिल्म करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'वीरविक्रम' को 'नेम सिक्वेल' हो । केही हप्ता अगाडि निर्माण टिमले फिल्मको सेटबाट एक गीत छायांकनको क्रममा खिचिएका तश्बिर सार्वजनिक गरेको थियो ।
प्राप्त तश्बिरमा अभिनेता पल र नाजिरको अंगालोमा अभिनेत्री वर्षा देखिएकी थिइन् । बिहीवार बिहान भने उनले फिल्मको सेटबाट आफ्ना सोलो तीन तश्बिर फेसबुकमा साझेदार गरेकी छन् । तश्बिरमा उनलाई थकाली पहिरनमा देख्न सकिन्छ । क्याप्सनमा उनले लेखेकी छन्, 'काली काली थकाली जस्तै ।'

हिट फिल्मको सिक्वेलमा आबद्ध हुनु पाउँदा दंग देखिएकी उनले यो फिल्मका लागि अफर आएका केही फिल्म रिजेक्ट गरेको बताउँछिन् । यो फिल्म गर्न उनले 'रानी महल' छाडेकी थिइन् । दर्जन बढी फिल्ममा काम गरेर पनि असफलताको आलोचनाबाट पिरोलिरहेकी उनी 'वीरविक्रम २' ले निराश नबनाउनेमा ढुक्क देखिन्छिन् ।

