.jpg)
कमेडी फिल्म ‘न यता न उता’ मा बरिष्ठ हास्यकलाकार राजाराम पौडेलले एकसाथ चार चरित्र निभाएका छन् । बुधबार सार्वजनिक भएको ट्रेलरमा उनलाई फरक-फरक चरित्रमा देख्न सकिन्छ । डन, मजदुर, ज्योतिष र युवतीको गेटअपमा उनी प्रस्तुत छन् ।
मिराज रोश र विशारद बस्नेतको संयूक्त निर्देशन रहेको फिल्ममा राजारामका अलावा ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिमम गुरुङ्ग, मिराज रोश, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, नम्रता सापकोटालगायतको अभिनय छ । यो माघ २५ गते प्रदर्शनमा आउने फिल्म हो ।
निर्माण टिमले फिल्मको कथा नेपाली फिल्ममा नै पहिलो रहेको दाबी गरेको छ । दुई जना अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताए । सबै उमेरका दर्शकलाई फिल्मले दुई घन्टा भरपूर मनोरञ्जन दिने उनको दाबी छ ।
यस फिल्मले आफ्नो प्रचार-प्रसार भाइबरमार्फत् सुरु गरेको छ । भाइबरले उक्त फिल्मको स्टिकर प्याक प्रस्तुत गरेको छ । यस फिल्मको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाउन सकिने निर्देशक मिराजले जानकारी दिए । फिल्ममा ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा छन् ।
ट्रेलर हेर्नुहोस् :-

