कुनै सेलिब्रेटी अफेयरमा रहनु अनौठो कुरा होइन । बेला बखतमा अभिनेता-अभिनेत्रीको प्रेम प्रसंगको कुरा मिडियामा आइरहेको हुन्छ । केही दिनदेखि अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पाली प्रेममा रहेको खबरले मिडियामा विशेष स्थान पाइरहेको छ । तर, दुवैले यो कुरा नकार्दै आइरहेका छन् ।
अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ पनि प्रेममा रहेको चर्चा सिनेवृतमा चल्न थालेको लामै समय भइसकेको छ । फिल्म 'लिलिबिली' मा सँगै स्क्रिन साझेदारी गरेको यो जोडीले पुनः नयाँ फिल्म 'लभ स्टेशन' मा सँगै काम गर्नुले बजारको हल्लालाई थप मजबुत बनाउँदै लगेको छ ।
दुवैले पटक-पटक आफूहरु साथी मात्र रहेको बताउन भने छाडेका छैनन् । जसिता त आफू न पहिला न अहिले नै प्रेममा रहेकोे बताउँदै आएकी छन् । 'लिलिबिली' बाट सुन्दरता र अभिनयको 'वाहवाही' बटुलेकी उनी डेब्यु फिल्म गर्नुभन्दा अगाडि अभिनेता धिरज मगरसँग प्रेममा रहेको खबर 'एककान दुईकान हुँदै मैदान' भएको छ ।

करीब २ महिना नेपाल बसाईमा फिल्म 'लभ स्टेशन' को छायांकन सकाएर केही हप्ता अगाडि मात्र जसिता यूके उडिसकेकी छन् । उनले गएको दुई वर्ष अगाडि 'यूके डान्स' को उपाधि जितेकी थिइन् । यो कार्यक्रमको फिनाले अभिनेता धिरजले होस्ट गरेका थिए भने कोरियोग्राफर रेनशा वान्तवा राई निर्णायक थिइन् ।
यो कार्यक्रमको फिनालेभन्दा अगाडि नै जसिता र धिरजको ब्रेकअप भइसकेको स्रोत बताउँछ । ब्रेकअप हुनुको कारण भने जानकारीमा आएको छैन । रेनशाले भने सो कार्यक्रममा होस्ट गरेका धिरजलाई आफ्नो फिल्म 'इन्टु मिन्टु लण्डनमा' को हिरो बनाएकी थिइन् । अहिले उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको छ ।
अब रोचक कुरा के छ भने निर्देशक राई पूर्व प्रेम-प्रेमिकालाई मिलन गराउने तयारीमा छिन् । 'इन्टु मिन्टु....' को सफलतापछि उनले धिरजलाई लिएर नयाँ फिल्म 'आई एम ट्वान्टिवान' बनाउँदैछिन् । यसमा धिरजको अपोजिटमा जसितासँग कुरा भइरहेकोे छ । निर्देशक राईले भने मौखिक सहमती भइसकेको बताएकी छन् ।
जसिता यूकेमा भएका कारण उनले फिल्म गर्ने वा नगर्ने विषयमा औपचारिक जानकारी दिएकी छैनन् । स्रोतका अनुसार, उनले धिरजसँग फिल्म गर्ने सम्भावना निकै न्यून छ । प्रदीपको सल्लाहमा उनले हातमा आएका धेरै फिल्म छाडिसकेकी छन् । रेनशाको फिल्म पनि उनले प्रदीपकै सल्लाहमा निर्णय लिने बताइन्छ ।
फिल्मलाई लिएर रेनशा र जसिताको केही पटक भेट भने भइसकेको छ । निर्देशक राईले यूकेमा नै जसिताले फिल्म साइन गर्ने बताएकी छन् । तर, के पूर्वप्रेमीसँग फिल्म गर्न उनी राजी होलिन् ? प्रदीपले जसितालाई धिरजसँग रोमान्स गर्न अनुमती देलान् ? यो हेर्न भने केही समय पर्खिनै पर्ने हुन्छ ।

