आफ्ना फिल्मका कार्यक्रमभन्दा बाहेक अभिनेता अनमोल केसीलाई अरु सार्वजनिक कार्यक्रममा निकै कम भेटिन्छ । अवार्ड पाउने निश्चित भए अवार्ड समारोहमा पुग्छन् नभए वर्ष दिनमा उनलाई भेट्न उनकै फिल्मको कार्यक्रमको नै प्रतिक्षा गर्नुको विकल्प छैन मिडियालाई पनि । उनी मिडियाका लागि मात्र नभइ दर्शकका लागि पनि विशेष अनुहार हुन् । उनको बारेमा दर्शकमा सर्वाधिक चासो देखिन्छ ।
एक फिल्मबापत ५० लाखसम्म पारिश्रमिक बुझ्ने उनले पटक-पटक भन्दै आएका छन्, 'हरेक फिल्म एक वर्ष नभए छ महिनाको अन्तरमा रिलिज हुन्छ । एउटा रिलिज नभएसम्म अर्कोमा काम गर्दिनँ ।' लगातार फिल्म गर्दा साख गुम्ने उनलाई चित्ता छ । तर, अहिले उनको बोली एकातिर र काम अर्कोतिर भइरहेको छ । छैटौं फिल्म 'क्याप्टेन' रिलिज नहुँदै उनले 'ए मेरो हजुर ३' गरे ।
चाँडै उनी मिलन चाम्सको प्रोजेक्ट 'ब्याचलर बन्टी' गर्दैछन् । बोली विपरित भटाभट फिल्म गर्दाको असर अब उनको फिल्मको रिलिजमा देखिन थालेको छ । यस वर्ष उनको दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछ । 'क्याप्टेन' फागुन १७ मा रिलिज हुँदैछ भने 'ए मेरो हजुर ३' चैत २९ मा ।
'क्याप्टेन' फागुनमा आउने तय भएपछि 'ए मेरो हजुर ३' चैतमा नआउने खुबै चर्चा थियो तर अब दुई फिल्म डेढ महिनाको अन्तरमै रिलिज हुने निश्चित भएको छ ।
(1)(1).jpg)
'ए मेरो हजुर' निर्माता सुनिल कुमार थापाले चैत २९ मा फिल्म नआए फिल्म क्षेत्र नै छाड्ने उद्घोष गरिसकेका छन् । अनमोलले पनि दुई फिल्म डेढ महिनामै रिलिज हुने स्पष्ट पारेका छन् । फिल्म 'क्याप्टेन' को गीत रिलिज कार्यक्रममा पत्रकारले उनलाई उनले विगतमा बोलेको बोली स्मरण गराए । निर्माताको चेपुवामा परेपछि उनको के लाग्थ्यो र ! पलभरमै बोली फेरिहाले ।
घुमाउरो शैलीमा आफू निर्माताको चेपुवामा परेको आशय व्यक्त गर्दै अनमोलले भने, 'फिल्मको रिलिज अन्तर अलि लामो समय भएको भए राम्रो हुन्थ्यो । रिलिज डेट निर्माताले डिसाइड गर्ने हुँदा मैले खासै बोल्न मिल्दैन ।' उनले आफूले 'ए मेरो हजुर ३' को रिलिज टाढा सार्न खोजेता पनि असफल भएको स्विकार गरे ।
'तपाईले आफ्नो अडियन्सलाई 'इन्गेज्ड' गर्न सक्नुभयो भने रिलिज अन्तरले खासै फरक पार्दैन' उनले थपे, 'दुवै फिल्म फरक 'सब्जेक्ट' र 'प्रिजेन्टेसन' मा बनेको छ । यसकारण म दोहोरिए पनि समानता चाहिँ पाउनुहुन्न, यो म प्रमिस गर्छु ।' कन्टेन्टमा आकाश-जमिनको भिन्नता भए पनि सुरुवाती दुई दिन हलसम्म दर्शक तान्ने प्रमुख हतियार उनी नै हुन् । यसैले डेढ महिनामा दुई फिल्म रिलिज हुँदा उनीप्रति दर्शकमा चासो नरहन सक्छ ।
अहिलेसम्म फिल्मको कथावस्तु र आफ्नो अभिनयबाट उनले दर्शक तान्न नसकेको यथार्थ सबैमाझ छर्लङ्ग छ । लुक्सको ल्याकतमा स्टारडम 'पावरफुल' बनाइरहेको आरोप खेपिरहेका उनलाई दुई फिल्म डेढ महिनामा रिलिज हुँदै गर्दा उनको ६ महिनाको अन्तरको कुरा पनि गफमै सीमित हुनेछ । अब चाहिँ बोली पूरा गर्न नसक्ने कुरा नगर्लान् कि अनमोलले ?

