लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएका अभिनेता हुन् आर्यन सिग्देल । 'किस्मत' बाट सुखद डेब्यु गरेका उनले यसपछि करिअर पछाडि फर्किएर हेर्नु परेन । चकलेटी हिरोकोे अभावलाई उनको आगमनले केही हदसम्म भए पनि परिपूर्ती गरेको थियो ।
'कसले चोर्यो मेरो मन', 'हिफाजत', 'मेरो एउटा साथी छ', 'के यो माया हो ?', 'नोभेम्बर रेन', 'क्लासिक' लगायतका तीन दर्जन बढी फिल्ममा अभिनय गरिकेका उनको केही वर्षदेखि स्टारडम तिव्र गतिमा ओरालोे लागेको छ । यसको प्रमुख कारण एकपछि अर्को फिल्म बक्सअफिसमा डिजास्टर हुनुलाई मानिएको छ ।
उनको पछिल्लो कुन फिल्म हिट भएको थियो भनेर झट्ट सम्झन मुश्किल छ । यस वर्ष उनी आफैंले निर्माण गरेको फिल्म 'कायरा' प्रदर्शनमा आएको थियो । आफ्नो स्टारडम कमजोर भएपछि उनले अहिलेकी गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई १० लाख दिएर अनुबन्ध गरे । तर, फिल्म चलेन ।
.jpg)
बाहिरी ब्यानरको फिल्म नगर्ने र गरे पनि आफ्नो ब्यानरसँग सहकार्य गर्न तयार हुने ब्यानरको फिल्ममात्र गर्ने अडानमा उनी लामै समय बसे । तर, हातमुख जोर्नै गाह्रो भएपछि उनले आफ्नो बोली परिवर्तन नगरि सुखै पाएनन् । हालै उनले बाहिरी ब्यानरको फिल्म 'हजार जुनीसम्म' साइन गरे । यसमा उनले १२ लाख माथि पारिश्रमिक बुझेका छन् ।
अहिलेसम्म हिरोइनको अगाडि-पछाडि दौडिने क्यारेक्टर मात्र गरिरहेका उनी यसमा एक पिताको भूमिका निर्वाहा गर्दैछन् । डेब्यु ब्वाई अक्की प्रधानले उनको छोराको भूमिका निभाउँदैछन् । विकासराज आचार्यले निर्देशन गर्ने फिल्मका लागि पिताको भूमिकामा फिट देखिन आर्यनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् ।
उनले दाह्री, जुँगा र कपाल निकै लामो बनाएका छन् । फिल्मका लागि बनाएको लुक्स उनले आफ्नो फेसबुकबाट नै 'रिभिल' गरेका थिए । अहिले उनले दाह्री र कपालमा हल्का सेतो रंग लगाएका छन् । रोचक कुरा के छ भने अहिले उनी आफैंले फेसबुकमा सार्वजनिक गरिसकेको लुक्स लुकाउँदै हिँडिरहेका छन् ।
आइतबार बालाजुको एनएफडिसी स्टुडियोमा फिल्मको एक गीतको छायांकन भइरहेको थियो । दिउँसो २ बजे फिल्मीखबरको टिम पुग्दा आर्यनले फिल्मका लागि बनाएको गेटअप सार्वजनिक नगर्ने भन्दै क्यामेराको अगाडि पर्न चाहेनन् । उनले फिल्ममा हेर्दा नै मज्जा आउँछ भन्दै तर्किए ।
फिल्ममा नै दर्शकले हेरुन भन्ने इच्छा भएको भए उनले फेसबुकमार्फत् चाहिँ किन लुक्स सार्वजनिक गरे ? बुझ्न गाह्रो छ । कतै पिताको भूमिका निभाउन लागेको कुरा आफ्नो फ्यानलाई नमिठो लाग्ने सोचर त होइन ? नभए आफैंले सार्वजनिक गरिसकेको लुक्स लुकाउँदै हिँड्नुको अरु कारण के होला र ?

