Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको छोरासँग स्वस्तिमाको जोडी (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/16
 
माथिको शिर्षक पढेर तपाई झस्किनु त भएन ? झस्किनु भएको भए पनि नझुकिनु होला । अभिनेता आर्यन सिग्देल रियल लाइफमा पिता भइसकेका छैनन् । तर, उनी 'नाइँ नभन्नू ल' सिरिजका निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने नयाँ फिल्म 'हजार जुनीसम्म' मा भने पिताको भूमिकामा देखिँदैछन् । यसमा उनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् । 
 
 
उनले दाह्री र कपाल निकै लामो बनाएका छन् । पिताको भूमिकामा फिट देखिन दाह्री र कपालमा हल्का सेतो रंग पनि लगाएका छन् । अहिले उनलाई झट्ट हेर्दा ठम्याउन मुश्किल पर्छ ।
 
१२ लाखमाथि पारिश्रमिक बुझेका उनले उक्त फिल्मका लागि गेटअप परिवर्तनमा निकै मिहिनेत गरेका छन् । यस फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री प्रियंका कार्की देखिँदैछिन् । 
 
 
'हजार जुनीसम्म' को आइतबारबाट छायांकन सुरु भएको छ । फिल्मको छायांकन एक गीतबाट भएको छ । लोक फ्लेवरको गीतमा निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता आर्यन सिग्देललगायतले कम्मर कर्माएका छन् ।
 
निर्देशक निरौला भने हाल छायांकन भइरहेको गीतमा मात्र देखिनेछिन् । उनी गीतमा भट्टी साहुनीको भूमिकामा छिन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
 
 
फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, निरुता सिंह, सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहने छ ।
 
यस फिल्मबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका छन् । फिल्ममा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । 
 
 
५० दिनसम्म खिचिने फिल्मलाई सिक्किमका सिएम पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गर्न लागेका हुन् । १२ दिने नेपाल छायांकन सकेपछि फिल्मको बाँकी छायांकन सिक्किममा हुने निर्देशक आचार्यले बताए । 
 
अभिनेता आर्यन भने आफ्नो लुक्स तत्काल सार्वजनिक गर्ने सोचमा छैनन् । लुक्स रिभिल हुने डरले आइतबार गीत छायांकनमा उनी मिडियाको सामु देखा नै परेनन् । 
 
 
बालाजुस्थित एनएफडिसी स्टुडियोमा भइरहेको गीत छायांकनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दीपाश्रीले आफूलाई गीत मनपरेका कारण नृत्य गर्न राजी भएको बताइन् ।
 
कलाकार शिवहरीले निर्देशक आचार्यसँग काम गर्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । नव-नायक अक्की डेब्यु फिल्ममा चलेका कलाकारसँग काम गर्न पाउँदा भाग्यमानी महशुस गरेको बताउँछन् । 
 
 
बुबा र छोराको कथामा बन्न लागेको फिल्मको कथा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको हो । बसन्त सापकोटा, राजनराज सिवाकोटीको संगीत रहने फिल्ममा स्वस्तिमाले सिक्किमकी एक युवतीको भूमिका निर्वाहा गर्दैछिन् । उनी आफ्नो भूमिकालाई लिएर उत्साहित देखिन्छिन् । यसअघि उनी निर्देशक आचार्यको 'नाइँ नभन्नू ल ५' मा लिड रोलमा थिइन् । 
Most Visited News (monthly)