भिडियो निर्देशनमा आफूलाई स्थापित गरिसकेका निर्देशकहरुको नेपाली फिल्ममा प्रवेश बढ्दो छ । निकेश खड्का, भुषण दाहाल, आलोक नेम्वाङ, प्रणप जोशी, नितिन चन्द, जनकदीप पराजुली, प्रशन्न पौडेललगायतले भिडियोसँगै फिल्म निर्देशन पनि गरिसकेका छन् । अब यो लिस्टमा अर्को नाम थपिने भएको छ ।
लोकदोहोरी गीतका भिडियो निर्देशक तथा चर्चित मोडल शंकर विसीले पनि फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । अर्को वर्ष उनी आफ्नो निर्देशनमा फिल्म निर्माण गर्ने तयारीमा छन् । उनले २ वर्ष अगाडि लेखेको कथामा फिल्म बन्न लागेको हो । अहिले उनको कथामाथि लेखक अभिमन्यू निरवीले काम गरिसकेका छन् ।

फिल्मीखबरसँग कुराकानी गर्दै शंकरले भने, ‘केही समयदेखि स्क्रिप्टको काम भइरहेको छ । लेखक निरवीले मैले लेखेको कथालाई कच्चा पदार्थ हो यसलाई फिल्म बनाउँछु भन्नुभएको छ । उहाँले पूर्ण स्क्रिप्ट दिएपछि फिल्मको बाँकी काम सुरु गर्नेछौँ ।’ विन्दावासिनी म्यूजिक कम्पनीले फिल्मको निर्माण गर्नेछ ।
फिल्म कमेडीप्रधान हुने उनले बताए । फिल्ममा हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सँग कुरा भइरहेको उनी बताउँछन् । विसी भन्छन्, ‘फिल्मको कन्सेप्ट सुनेपछि उहाँ सकारात्मक देखिनु भएको छ । स्क्रिप्ट लिएर आउनुस् कुरा गरौँला भन्नुभएको छ । स्क्रिप्ट पूर्ण भएपछि उहाँसँग बाँकी कुरा गर्नेछौँ ।’
दर्जन बढी फिल्मका गीतमा कोरियोग्राफरको रुपमा समेत काम गरिसकेका उनले २०६४ सालमा फिल्म ‘बेरोजगार’ मा अभिनय पनि गरेका थिए । तर, यो फिल्म बक्सअफिसमा असफल भएको थियो । उनले २ हजार बढी म्यूजिक भिडियोको निर्देशन र मोडलिङ गरिसकेका छन् ।

