Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरे २’ घोषणामै सीमित हो ?

फिल्मीखबर, काठमाडौं, 2018/12/16
 
रिलिज अगाडि वा पछाडि घोषणा गरिएका फिल्मका सिक्वेल घोषणामै सीमित भएका उदाहरणहरु नेपाली फिल्म क्षेत्रमा प्रसस्तै छन् । हिट भएका फिल्मको सिक्वेल ब्याज खानकै लागि भएपनि बनेका छन् तर रिलिज अगाडि जोसमा घोषणा गरिएका फिल्म फ्लप भएपछि सिक्वेल बनाउने कुरा गफमै सीमित भएका धेरै छन् । यस्तै एक फिल्म हो ‘भैरे’ ।
 
यो फिल्म यस वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि निर्माताले विदेश राइट्स बेच्नकै खातिर नेपालबाटै लगानी सरक्षित भएको र सिक्वेल निर्माण गर्ने घोषणा गरे । केही देशमा फिल्म बिक्री भइसकेको पनि जानकारी दिइएको थियो । तर, यो फिल्म विदेशमा न प्रदर्शन भएको सुनिएको छ न त सिक्वेल नै बन्ने छाँटकाट देखिएको छ । 
 
मिडियामा दुईदिने चर्चा र फिल्म हिट भएको डंका फुक्नका लागि निर्माताले सिक्वेल घोषणा गरेको टिकाटिप्पणी सुरु हुन थालेको छ । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहराले नै यसको सिक्वेल निर्देशन गर्ने घोषणा गरिएको थियो । तर, अहिले निर्देशक बोहरा नयाँ फिल्म निर्देशनको तयारीमा छन् । नाम ‘हेल्लो जिन्दगी’ जुराइएको छ ।  
 
‘भैरे’ को सिक्वेल यसै वर्षभित्र बनाउने निर्माता/निर्देशकले बताएका थिए । निर्देशक बोहराले फिल्मको सफलताको खुसीयाली साटासाट कार्यक्रममा भनेका थिए, ‘दोस्रो सिरिजमा केही नयाँ कोशिश गर्ने छौँ । ‘भैरे’ मा भएका कमी कमजोरीहरु दोस्रो पार्टमा नदोहोर्‍याउन हामी सर्तक रहने छौँ ।’ तर, अब उनी स्वयं ‘भैरे’ को सिक्वेल नभइ नयाँ फिल्म निर्देशनको तयारीमा जुटेका छन् । 
 
सिक्वेल घोषणा गर्दा विदेशमा बस्ने नेपाली दर्शकमा नेपालमा फिल्म राम्रो चलेको र रुचाइएको सन्देश जान्छ । यसले विदेशी मार्केटमा फिल्मको डिमान्ड बढ्न थाल्छ । ‘भैरे’ को सिक्वेल पनि यसैका लागि घोषणा गरिएको बुझ्न गाह्रो छैन । निर्मातालाई चाहिँ ‘भैरे’ को सिक्वेल घोषणा गरेर कति फाइदा भएछ कुन्नी ? 
Most Visited News (monthly)