Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ सँग ‘दि ब्रेकअप’ भिड्ने, ‘जात्रै जात्रा’ सर्ने सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2018/12/16
अहिलेका हटकेक हिरो अनमोल केसीको फिल्मसँग भिडन्त गर्न हत्तपत्त निर्माता तयार हुँदैनन् । उनको फिल्मसँग बक्सअफिसमा आमने-सामने हुनु भनेको ‘बाघको मुखमा हात हाल्नु सरह हो’ भन्ने गरिन्छ । तर, यो मान्यता विस्तारै भंग हुँदै गएको छ । फागुन १७ मा उनी अभिनीत फिल्म ‘क्याप्टेन’ सँग भिड्न ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ तयार छ । 
 
यस्तै चैत २९ गते उनको अर्को प्रतिक्षीत फिल्म 'ए मेरो हजुर ३' सँग उदाउँदा स्टारको रुपमा हेरिएको सलिनमान बनियाँको फिल्म 'यात्रा' जुध्दैछ । एकपछि अर्को दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेका ठूला फिल्म अनमोलका फिल्मसँग भिड्न तयार हुँदै गर्दा अब उनका फिल्मसँग भिडन्त गर्नु फलामको चिउरा चपाउनु सरह नभएको तर्फ संकेत गर्छ । 
 
यसबीच फागुन १७ गते ‘क्याप्टेन’ सँग भिड्न अर्को प्रतिक्षीत फिल्म ‘दि ब्रेकअप’ आउने कन्फर्म भएको छ । अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा भाँचिएपछि अस्तव्यस्त भएको फिल्म 'जात्रै जात्रा' को छायांकन लगभग एक महिनाका लागि रोकिएपछि अब यो फिल्म पूर्वनिर्धारित मितिमा नआउने प्रवल सम्भावना छ ।  
 
 
उक्त फिल्म नआउने संकेत पाएपछि फिल्म ‘दि ब्रेकअप’ पूर्वघोषित मिति पुष २७ गतेबाट सरेर फागुन १७ मा पुगेको छ । यो मितिमा महाशिवरात्रीको विदा छ । रोचक कुरा के छ भने अनमोललाई डेब्यु गराउने निर्देशक हेमराज विसीको फिल्म हो ‘दि ब्रेकअप’ । उनको निर्देशनमा अनमोलले 'होस्टेल', 'जेरी' र 'गाजलु' मा काम गरेका थिए । पछिल्लो समय दुईबीच सम्बन्ध सन्तुलित नभएको सिनेवृतमा चर्चा छ । 
 
हेमराजले 'क्याप्टेन' सँग आफ्नो फिल्म जुधाउन लाग्नुले पनि दुईबीच 'पानी बाराबार' रहेको स्पष्ट हुन्छ ।  निर्देशक विसीले प्राविधिक कारणले रिलिज हेरफेर गर्नु परेको बताएका छन् । उनले फिल्ममा समावेश हुने २० प्रतिशत भिएफएक्सको कामलाई समय अभाव भएकाले रिलिज हेरफेर गर्नु परेको बताए । 
 
उनी भन्छन्, ‘आवश्यक प्रचार प्रसारमा पनि समय निकाल्न नसकेकोले रिलिज सार्न बाध्य भयौँ, फागुन १७ बाहेक उपयुक्त डेट भेटेनौँ ।’ उक्त मितिमा प्रयाप्त बिदा भएको र विदामा नेपाली बजारले दुई फिल्म धान्ने उनी बताउँछन् । अब ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ को महासंग्राममा कुन कति पानीमा हुनेछ ? यो हेर्न भने निकै रोमाञ्चक हुनेछ । 
 
दुई फिल्मको कन्टेन्ट भने फरक छ । स्पोटर्स जानरामा ‘क्याप्टेन’ निर्माण भएको हो भने ‘दि ब्रेकअप’ लभस्टोरी फिल्म हो । अनमोल फिल्ममा एक फुटबलरको भूमिकामा छन् । ‘दि ब्रेकअप’ मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठ लिड अभिनयमा छन् ।  
Most Visited News (monthly)