फिल्म ‘होस्टेल’ र ‘जेरी’ रिलिज हुँदासम्म अभिनेता अनमोल केसी बोल्न निकै गाह्रो मान्थे । ‘फिल्म राम्रो बनेको छ हेर्दिनु होला’ भन्दा बढी उनी एक शब्द अरु बोल्दैन थिए । फिल्म ‘ड्रिम्स’ को बेलासम्म उनले बोल्नमा आफूलाई अभ्यस्त बनाइसकेका थिएनन् । तर, छैटौं फिल्म ‘क्याप्टेन’ सम्म आइपुग्दा उनी अब 'डिप्लोम्याटिक' जवाफ फर्काउन सिपालु भइसकेका छन् ।
बिहीवार फिल्म ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ गीत रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ फर्काउने शैलीको अधिकांश सञ्चारकर्मीले उनको प्रशंसा गरेका छन् । अहिले मिडियामा चर्चामा रहेको अभिनेत्री सारा सिर्पालीसँगको प्रेमको विषयमा उनले निकै रमाइलो ढंगबाट आफ्नो बयान दिए । सुरुमा त उनले सारासँगको प्रेमको कुरा पहिलो पटक सुनेको हाउभाउ प्रस्तुत गरे ।
(1).jpg)
उनले आफैंलाई प्रश्न गरे, ‘म प्रेममा पो छु ?’ उनको यो ठट्यौली शैलीको जवाफले कार्यक्रम हलमा हाँसोको फोहोरा छुट्यो । ओठमा मिठो मुस्कान च्याप्दै उनले थपे, ‘हिजो मलाई एकजना पत्रकारले फोन गरेर उपासना सिंह ठकुरी र मेरो रिलेसनसिपको बारेमा सोध्नु भएको थियो । मलाई नै थाहा छैन कि म कति जनाको रिलेसनसिपमा छु ।’
उनले अभिनेत्री सारासँग रिलेसनसिपमा रहेको कुरामा सत्यता नभएको बताए । उनले भने, ‘हामी राम्रो साथी मात्र हौं । इन्डस्ट्री सानो छ । कहीँ न कहीँ हामी एकअर्कासँग ठोकिरहेका हुन्छौं । त्यसरी नै भेट भएको मात्र हो ।’ पत्रकारले प्रतिप्रश्न गरिहाले- हावा नचलि पात हल्लिन्छ र ? उनले हाँस्दै भने, ‘खै ? यहाँ त के-के हल्लाइन्छ हल्लाइन्छ ।’
उनले अभिनेत्री साराको जन्मदिन मनाउन नगरकोट पुगेको खबरको पनि खण्डन गर्न भ्याए । उनी आफूहरुबीच केही पटक भेट भएको भने स्वीकार्छन् । ‘भेट हुनु, बोल्नु ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । साथी हुन सकिन्छ, भेट्न-बोल्न सकिन्छ’ उनले भने, ‘सारा र मेरो केही पटक भेट चाहिँ भएको छ ।’ साराको सुन्दरता र मुस्कानको ‘दिवाना’ अनमोल, सारासँग साथीभन्दा माथीको सम्बन्ध नभएको बताउँछन् ।

