प्रशंसकबाट ‘मेगास्टार’ को ट्याग पाएका अभिनेता अनमोल केसीले हरेक फिल्ममा नयाँ हिरोइसँग मात्र स्क्रिन साझेदारी गर्दै आइरहेका छन् । आना शर्मा, साम्राज्ञी आरएल शाह, सृष्टि श्रेष्ठ, अदिती बुढाथोकी हुँदै फागुन १७ गते रिलिज हुने फिल्म ‘क्याप्टेन’ उनले दुई नव-अभिनेत्रीसँग रोमान्स गरेका छन् ।
.jpg)
फिल्ममा उनको अपोजिटमा प्रियंका एमभी र उपासना सिंह ठकुरी छन् । फुटबल खेलाडीको संघर्षको कथा भन्ने फिल्मको बिहीवार ‘रहर छ सँगै...’ गीत सार्वजनिक भएको छ । गीतमा अनमोल र उपासना फिचर्ड छन् । उक्त गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंकाले अनमोलसँग डेट जाने रहर रहेको बताइन् ।
सञ्चारकर्मी नरेश भट्टराईले अनमोलको बारे भन्न आग्रह गरेपछि उनले भनिन्, ‘ऊ क्यूट छ । नेपालको टम क्रुज जस्तै लाग्छ ।’ टम क्रुजसँग डेट जाने मन छैन ? सञ्चारकर्मी भट्टराईले उनलाई प्रतिप्रश्न गरे । प्रियंकाले अनमोलतिर हेर्दै भनिन्, ‘मन त छ नी तर टम क्रुजलाई फुर्सद नै छैन ।’ उनको जवाफले कार्यक्रम हल हाँसोले गुञ्जियो ।
उनले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी महशुस भएको बताइन् । अर्की अभिनेत्री उपासना भने पहिलो पटक मिडिया फेस गरेका कारण निकै नर्भस देखिन्थिन् । माइक हातमा आएपछि उनी निकै हडबडाइन् । ‘राम्रो काम गर्ने प्रयास गरेको छु’, उनले छोटो बोलिन् । उनी कार्यक्रममा के बोल्ने भनेर घरबाटै रेटर आएको स्पष्ट हुन्थ्यो ।
.jpg)
अभिनेता अनमोलले भने सुटिङको दुःख सम्झिए । स्कुल जीवनमा कहिल्यै फुटबल नखेलेको बताउँदै ‘क्याप्टेन’ मा फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउन निकै मिहिनेत गरेको बताए । फुटबल सिक्न ३ महिनाको ट्रनिङ लिएको बताउँदै उनले भने, ‘सुटिङमा फुटबलको पछाडि दौडिँदा बेहोस हुन्छ जस्तो हुन्थ्यो ।’

