सदाबहार अभिनेता भुवन केसीका छोराको रुपमा अब अभिनेता अनमोल केसीलाई चिनाउन आवश्यक छैन । बरु, अहिले अभिनेता भुवनलाई अनमोलको पिता भनेर चिनिन थालिएको छ । प्रदर्शनमा आइसकेका पाँच फिल्मले अभिनेता अनमोललाई नसोचेको सफलता दिलाएको छ । 'फ्यान फ्लोइंग' उस्तै लोभलाग्दो छ । अहिलेका सर्वाधिक महँगा र सबैभन्दा डिमान्ड भएका अभिनेता हुन् उनी ।
(3).jpg)
उनलाई फिल्ममा लिएपछि फ्लोरमा निस्कनुभन्दा अगाडि नै निर्माताको लगानी सुरक्षित भइसकेको हुन्छ । यसकारण उनको माग 'दिन दुई गुणा, रात चार गुणा' बढेको छ । हाल 'ए मेरो हजुर ३' को छायांकनमा व्यस्त उनको नयाँ फिल्म 'क्याप्टेन' फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । बिहीवार यस फिल्मको 'रहर छ सँगै...' बोलको गीत सार्वजनिक भएको छ ।
गत वर्ष अभिनेता अनमोललाई फिल्म 'कृ' को एक कार्यक्रममा सञ्चारकर्मी नरेश भट्टराईले ‘मेगास्टार’ को ट्याग दिएपछि यसले ठूलै बहस जन्मायो । सञ्चारकर्मीले उनलाई अहिले नै यो ट्यागको जिम्मेवारी सुम्पनु गलत रहेको तर्क राखे पनि अनमोलका 'डाइहार्ट फ्यान' ले उनलाई ‘मेगास्टार’ को रुपमा सहजै स्वीकार गरेका छन् । अनमोललाई ‘मेगास्टार’ भनिएकोप्रति अभिनेत्री रेखा थापाले समेत असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘पन्ध्र वर्ष भयो ‘ब्याक टू ब्याक’ हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । हिरोइन पनि हिरो बन्नसक्छ भनेर देखाएँ । तर आज मलाई ‘मेगास्टार’ र ‘महानायिका’ भन्न डराउँछन् । तिनै पत्रकार १/२ हिट फिल्म दिएको भरमा नयाँलाई ‘मेगास्टार’ भन्न हिच्किच्याउँदैनन् ।’ रेखालाई जवाफमा अनमोलले पनि भनिदिए- मेरो नजरमा रेखा थापा ‘मेगास्टार’ ।
बिहीवार फिल्म 'क्याप्टेन' को गीत रिलिज कार्यक्रममा पत्रकारले ‘मेगास्टार’ को परिभाषा सञ्चारकर्मी नरेश भट्टराई, निर्माता तथा अभिनेता भुवन केसी र अभिनेता अनमोल केसीसँग खोज्ने प्रयास गरे । सञ्चारकर्मी भट्टराईले लगातार फिल्म हिट दिएको, लोभलाग्दो क्रेज भएको, सर्वाधिक डिमान्ड भएको र मिडियाको ठूलो भिड उनकै पछाडि लाग्ने हुँदा ‘मेगास्टार’ भनेको प्रस्ट्याए ।
(2).jpg)
अभिनेता भुवन केसी भने दर्शकले माया गरेर जे ट्याग दिए पनि स्वीकार्य रहेको बताउँछन् । उनी भन्छन्, 'हामीलाई यो 'स्टार' भन्नुस् भनेर कहिल्यै भन्दैनौं । हामी दर्शकको मायाका लागि काम गर्छौं । दर्शकले मायाले 'सुपरस्टार', 'स्टार' वा 'सदाबहार' जस्ता उपनाम दिनुहुन्छ भने हामी उहाँहरुलाई धन्यवाद मात्र भन्न सक्छौं ।' उनको बुझाईमा लगातार फिल्म हिट भएको अभिनेतालाई 'सुपरस्टार' भन्ने गरिन्छ ।
अभिनेता अनमोल भने आफूले कुनै उपनामका लागि काम नगरेको बताउँछन् । उनी भन्छन्, 'मैले मलाई ‘मेगास्टार’ भन्नुस् भनेर भनेको छैन । मेरा फ्यानहरुले दिनुभएको ट्याग हो । यसकारण सबैलाई धन्यवाद दिन चाहन्छु ।' 'डिप्लोम्याटिक डिलिङ्ज' मा उत्तर दिन माहिर मानिने उनी फिल्म 'क्याप्टेन' मा फुटबल खेलाडीको भूमिकामा छन् ।
नोटः 'मेगास्टार' हुनु पर्नेमा 'मेघास्टार' भएकाले सच्याइएको छ ।

