Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन र दीपक-दीपाको एउटै बोली- ‘सहकार्य गर्छौँ’

फिल्मीखबर, काठमाण्डौ, 2018/12/13
अहिलेका 'हटकेक' अनमोल केसी र नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्म निर्माण गरेको दीपक-दीपा टिमबीच टिमअप सम्भव होला ? लभस्टोरी जनराका फिल्मबाट बाहिर निस्कन नसकेका अनमोल र कमेडी फिल्म निर्माण गर्दै आएको टिमबीच सहकार्य असम्भव रहेको निश्कर्ष एकथरी चलचित्रकर्मीको छ भने अर्काथरी दुई ठूला टिम मिलेर अगाडि बढ्नु पर्ने तर्क राख्छन् । 
 
गएको महिना एउटा खबर बाहिरिएको थियो- अनमोल र दीपक-दीपा नयाँ प्रोजेक्टमा सहकार्य गर्दैछन् । वितरक तथा निर्माता मनोज राठीले एक भेटमा अभिनेता भुवन केसी र दीपक-दीपालाई फिल्ममा सहकार्यका लागि आग्रह गरेका थिए । यसपछि यो खबर मिडियाको कानसम्म पुगेको थियो । केही दिन यही विषयले फिल्म क्षेत्रमा राम्रै बहस सृजना गर्‍यो तर अहिले सेलाएको छ । 
 
दुई टिमलाई एक गर्न पुलको काम गरिरहेका वितरक राठीले फिल्मीखबरसँग कुरा गर्दै भनेका थिए, 'सहकार्य गरौंन भनेर कुरा मात्र भएको हो । यस विषयमा थप केही कुरा भएको छैन । कथा राम्रो भए र दुबै पक्षलाई मन परे सहकार्य असम्भव छैन । उहाँहरु टिमअप गर्न तयार हुनुहुन्छ । तर, अहिले नै यस विषयमा बोल्नु उपयूक्त हुँदैन ।' 
 
 
बुधबार फिल्म 'सुश्री सम्पत्ति' को स्पेशल शोमा उपस्थित दीपकराज गिरी, दीपाश्री निरौला र भुवन केसीले पहिलो पटक मिडियाको सामु यस विषयमा आफ्नो बयान दिएका छन् । उनीहरुले सहकार्य असम्भव नभएको बताएका छन् । 'छक्का पञ्जा ३' को ५१ औं दिने सक्सेस पार्टीमा टिमलाई बधाई दिन समेत पुगेका भुवनले दुई टिमको सहकार्यमा फिल्म निर्माण भएरै छाड्ने विश्वास दिलाए । 
उनले दीपक-दीपाको तारिफ गर्दै भने, 'नेपाली फिल्मको व्यापार यो उचाइमा पुर्‍याउने श्रेय हामीले उहाँहरुलाई दिनुपर्छ । नेपाली फिल्मले यतिसम्म पनि व्यापार गर्न सक्छ भनेर दीपक-दीपाले प्रमाणित गरेका छन् ।' उनले 'छक्का पञ्जा' टिमसँग सहकार्यका लागि तयार रहेको बताउँदै थपे, 'अनमोल, दीपक-दीपा हामी मिलेर भविष्यमा अवश्य पनि फिल्म गर्नेछौं ।' नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउन सबै एक भएर लाग्नु पर्ने पनि उनले सुझाए । 
 
उनको कुरामा दीपक-दीपा पनि सहमती जनाउँछन् । दीपाले अभिनेता केसीलाई 'युग नायक' को उपाधि दिँदै अनमोलसँग सहकार्यका लागि केही पटक कुरा भएको गोप्यता खोलिन् । उनले गत वर्ष अमेरिकामा सम्पन्न एक अवार्डमा सँगै यात्रा गर्ने क्रममा दुई टिमबीच सहकार्य गर्ने विषयमा कुरा भएको सम्झिइन् । 'अनमोलसँग सहकार्य गर्ने हाम्रो पनि चाहना छ र त्यो चाँडै पूरा हुनेछ', उनले भनिन् । 
 
दीपकराजले पनि अनमोलसँग सहकार्य गर्न आफ्नो टिम तयार रहेको बताए । उनी भन्छन्, 'अनमोलसँग स्क्रिन सेयर र हामी दुई टिम एक भएर फिल्म निर्माण गर्नु आफैंमा राम्रो कुरा हो । भविष्यमा हामीबीच सहकार्य हुनेछ ।' दीपक-दीपा र भुवन आफूहरुको प्रतिस्पर्धा नेपाली फिल्मसँग नभइ विदेश फिल्मसँग भएको पनि बताउँछन् । 
Most Visited News (monthly)