सह-अभिनेतामा सलोन बस्नेतलाई भ्याइनभ्याइ छ । ठूला स्टारलाई उनी नै चाहिएको छ अनि गिनेचुनेका ब्यानरको रोजाईमा पनि उनी नै छन् । अब्बल अभिनय, सरल तथा मीठासयूक्त व्यवहारका कारण उनलाई कामको कमी छैन । कहिले सोलो हिरोमा पनि देखिन्छन् त कहिले हिरोको साथी भएर पनि । धेरैले उनलाई फिल्मको चपाउने दाँतको रुपमा ब्याख्या गर्छन् ।
'गाजलु' मा अनमोल केसीमाथि हाबी भए अनि 'ए मेरो हजुर २' मा सलिनमान बनियाँमाथि । उनी फिल्ममा भएपछि लिड हिरोलाई 'थ्रेट' हुन्छ भनिन्छ र यो धेरै हदसम्म देखिएको पनि छ । तर, दुर्भाग्य ! उनी सोलो हिरोको रुपमा चल्न सकेका छैनन् । तर, हिरोको साथी भएर आउँदा उनले असफलतासँग खासै घम्साघम्सी गर्नु परेको छैन । न त 'जस' नै अरुले पाएका छन् ।
'ए मेरो हजुर २' को सफलतापछि लोकप्रियताको उचाईमा पुगेका उनी यही मंसिर २८ गते नयाँ फिल्म 'सुश्री सम्पत्ति' मार्फत पर्दामा देखिँदैछन् । कमेडी फिल्ममा अत्याधिक रुचाइएका सलोनको यो फिल्म पनि कमेडीप्रधान नै हो । सुव्रत आचार्य निर्देशित फिल्ममा उनको हिरोइन सारा शिर्पाली छिन् । अभिनेता विनोद न्यौपानेको पनि लिड रोल छ । फिल्मको 'हुकुम बक्सियोस्...' गीत अहिले निकै चर्चामा छ ।
(3).jpg)
अभिनेता सलोन दर्शकले आफूबाट गरेको अपेक्षा 'सुश्री सम्पत्ति' ले पूरा गर्नेमा विश्वस्त छन् । उनी दर्शकले आफूलाई कमेडी फिल्ममा मात्र रुचाएको स्वीकार गर्न तयार छैनन् । भन्छन्, 'यसअघि मबाट नै केही कमी कमजोरी भएको थियो होला । तर, मलाई कमेडी फिल्ममा मात्र दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्दैन ।' उनी लभस्टोरी फिल्म 'बाबु कान्छा' राम्रो नहुनुमा आफैंलाई दोषी ठान्छन् ।
अभिनेता सलोन अभिनयसँगै लभ लाइफका कारण पनि मिडियाको लाइमलाइटमा पर्ने गरेका छन् । अभिनेत्री करिश्मा श्रेष्ठसँग लभ र ब्रेकअपको खबरले उनलाई पटक-पटक चर्चामा ल्याएको छ । फिल्म 'लभ सब' को बेला लभ, फिल्म 'बाबु कान्छा' को बेला ब्रेकअप र सोही फिल्म रिलिजको बेला लभ अनि रिलिज लगत्तै ब्रेकअप । कतै सलोनले चर्चाका लागि अफेयरको फण्डा अपनाएका त होइनन् ?
उनी चर्चाका लागि आफूलाई प्रेमको नाटक गर्न आवश्यक नभएको बताउँछन् । भन्छन्, 'करिअरमा 'अप्स् एण्ड डाउन्स्' त भइहाल्छ । फिल्म इन्डस्ट्रीमा करिअर चल्या जस्तै हो । म खुल्ला किताब हुँ । जे हो मैले त्यही भनेको हुँ । मिडियाकर्मीले लभ लाइफको बारे सोध्नु हुन्छ र म वास्तविक कुरा भन्छु । यसैले मैले देखाउनका लागि भनेको जस्तो हुन्छ तर सँधै यथार्थ कुरा मात्र भनेको हुन्छ ।'

