.jpg)
प्रायः सेलिब्रेटीहरु प्रेम सम्बन्ध गोप्य नै राख्न चाहन्छन् । एकाध कलाकार मात्र प्रेम सार्वजनिक गर्ने आँट जुटाउँछन् । धेरैलाई अफेयरमा रहेको खबर बाहिरिँदा क्रेज चौपट हुन्छ भन्ने चिन्ता हुन्छ । नेपालमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी, बर्षा राउत र संजोग कोइरालाजस्ता केही जोडी मात्र यो मामलामा उदार देखिएका छन् । नभए अधिकांश अविवाहित सेलिब्रेटी प्रेम लुकाउन हरसम्भव प्रयास गर्दछन् ।
अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह 'लभ लाइफ' लाई मिडियामा ल्याउन नचाहने सेलिब्रेटीको कोटीमा पर्छिन् । तर, जति गोप्य राखे पनि उनको प्रेम लुक्न सकेको छैनन् । मयंक खड्कासँग प्रेम सम्बन्ध टुंग्याएपछि उनी अहिले नेपाल उद्योग बाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणाको प्रेममा छिन् । केही दिन अगाडि प्रेमीको घरमा उनले आफ्नो 'बर्थडे' समेत मनाएकी थिइन् ।
.jpg)
पूर्व प्रेमी मयंकसँग सार्वजनिक कार्यक्रममा पुगे पनि उनी मिडियाबाट सकेसम्म लुक्ने प्रयास गर्थिन् । मंगलबार फिल्म 'मारुनी' को घोषणा सभामा पनि साम्राज्ञी नयाँ प्रेमी देवांशसँग एकसाथ मिडियामा आउन चाहिनन् । प्रेमीको फोर्स कम्पनीको गाडीको अघिल्लो सिटमा बसेरै कार्यक्रममा पुगेकी थिइन् उनी । हलको पछाडिको भागबाट उनीहरु लुसुक्क प्रवेश गरेका थिए । त्यसपछि साम्राज्ञी मेकअप र पहिरन परिवर्तनमा व्यस्त भइन् ।
देवांश भने कार्यक्रम हलमा आएर उनको प्रतिक्षा गरेर बसे । उनी कहिले पानीको चुस्की लगाउँथे त कहिले मोवाइल खेलाउनमा व्यस्त देखिन्थे । अरु कोहीसँग चिनजान नभएका कारण उनलाई प्रायः एक्लै देखिएको थियो । करीब साढे ५ बजे कार्यक्रम सुरु भयो । फिल्मको घोषणामा कलाकारलाई र्याम्पमा उतारिएको थियो । साम्राज्ञी र्याम्पमा खुसी मुद्रामा उत्रिँदा देवांश उनलाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिए ।
.jpg)
साम्राज्ञीले फिल्मका अभिनेता पुष्पल खड्कासहित अन्य टिमका सदस्यसँग मिडियामा तश्बिर खिचाइन् । रातो पहिरनमा निकै सुन्दर देखिएकी उनले सोलो तश्बिर पनि पोज-पोजमा मिडियालाई खिचाइन् । करीब साँझ ६ः३० बजे कार्यक्रम सकियो । बेला भएको थियो डिनरमा सहभागी हुने । तर, साम्राज्ञीलाई प्रेमीसँग पहिलो पटक एकसाथ भेटेका कारण फोटोग्राफरहरु उनीहरुलाई क्यामेरामा कैद गर्न अगाडि-पछाडि दौडिएका थिए ।
'लभ कपल' मिडियाका क्यामेराबाट सकेसम्म छलिए । एक सहयोगीले दुईलाई मिडियाबाट बचाउन निकै प्रयास गरेका थिए । साम्राज्ञी फिल्मका अन्य सदस्यहरुसँग कुरा गर्दा देवांश उनकी आमा नेहासँग कुरा गर्न व्यस्त देखिन्थे । दुईको बोलचालबाट सहजै अनुमान गर्न सकिन्थ्यो कि उनी साम्राज्ञीको परिवारसँग निकै नजिक भइसकेका छन् । मिडियाले साथ नछाडेपछि साम्राज्ञीले डिनर नगरि नै बाहिरिने निर्णय गरिन् ।
.jpg)
तर, फोटोग्राफरले पिछा छाडेनन् । गाडी पार्किङ गरिएको ठाउँमा नै फोटोग्राफरको भीड लाग्यो । मिडियाको सामुन्ने प्रेमीसँग एउटै गाडीमा निस्कन साम्राज्ञीले आँट जुटाइनन् । फोटोग्राफरबाट जोगिन लगभग आधा घण्टा उनीहरु मेकअप रुममा नै बसे । कहिले साम्राज्ञी रेस्ट रुम जान्थिन् त कहिले आमासँग कुरा गर्न व्यस्त देखिन्थिन् । तर, मिडियाको डरले उनी प्रेमीसँग बाहिर निस्कन सकिनन् ।
करीब साढे ७ बजे दुईले एउटा उपाय रचे । फोटोग्राफरबाट बच्न उनीहरु भिन्दा-भिन्दै निस्किए । देवांश गाडी लिएर एक्लै कार्यक्रम हलबाट बाहिरिए । करीब ५ मिनेटमा साम्राज्ञी एक सहयोगीको स्कुटरमा चढेर निस्किइन् । मिडियाबाट बच्नका लागि उनी प्रेमीको गाडीमा कार्यक्रम हलबाट नबाहिरिए पनि कार्यक्रम भएको स्थान गैह्रीधाराको मेन रोडमा उनलाई प्रेमीले प्रतिक्षा गरेर बसेका थिए ।
.jpg)
साम्राज्ञी स्कुटरमा बाहिरिन लागेको खबर पाएपछि केही फोटोग्राफर रोडमा पनि पुगे । तर, साम्राज्ञी प्रेमीको गाडीमा चढेर उम्कन सफल भइन् । उनी देवांशसँग प्रेममा रहेको खबर गएको महिना मात्र बाहिरिएको थियो । प्रेममा रहेको खबर सर्वत्र हुँदा पनि उनी मिडियासँग किन लुकामारी गर्छिन् ? बुझ्न गाह्रो छ । सार्वजनिक कार्यक्रममा प्रेमीसँग निर्धक्क रुपमा आउने तर मिडियामा प्रेम देखाउन नचाहने उनको बानी गजबकै छ ।

