Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मले नदिलाएको चर्चा मरिश्कालाई भिडियोबाट

फिल्मीखबर, काठमाण्डौ, 2018/12/11
अभिनेत्री मरिश्का पोखरेल आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न अझै संघर्षरत छिन् । लगातार एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदा उनले ठूला प्रोजेक्ट हात पार्न पाएकी छैनन् । न त प्रशंसकको ठूलो वर्ग नै बनाउन सकेकी छन् । हिट फिल्म 'चपली हाइट' को सिक्वेलबाट अभिनय यात्राको थालनी गरेकी उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । 
 
उनका 'के म तिम्रो होइन र', 'लम्फू', 'पण्डित बाजेको लौरी', 'मिस्टर भर्जिन', 'साली कस्को भेनाको' फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, यी कुनै फिल्म बक्सअफिसमा हिट साबित हुन सकेनन् । फिल्म नचले पनि फाट्टफुट्ट उनको हातमा फिल्म भने टुटेको छैन । अहिलेसम्म अभिनयको वाहवाही पनि बटुल्न नपाएकी उनी हाल एक कार्यक्रमको शिलशिलामा यूकेमा छिन् । 
 
 
आधा दर्जन फिल्म गरेर पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाउन सकस भइरहेको अवस्थामा उनलाई अहिले १४ मिनेट २३ सेकेण्डको एक लोक दोहोरी भिडियोले निकै चर्चा दिलाएको छ । 'सालको पातको टपरी...' गीत अहिले नेपाली बजारमा सर्वाधिक धन्किने गीतमा पर्दछ । यसमा उनले अभिनय गरेकी छन् । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । 
 
भिडियोमा मरिश्कालाई गायक कुलेन्द्र र बसन्त थापाले साथ दिएका छन् । उक्त गीतलाई अहिलेसम्म युट्युबमा १ करोड १३ लाखभन्दा बढी पटक हेरिसकिएको छ । उनले अभिनय गरेका कुनै फिल्मका गीत पनि यति धेरै लोकप्रिय भएका थिएनन् । १४ मिनेटको मिडियोले मरिश्काको नयाँ अध्याय सुरु भएको चर्चा हुन थालेको छ । ६८ हजार लाइक्स मिलेको भिडियोलाई ५ हजार बढी कमेन्ट प्राप्त छ । 
 
भिडियोमा धेरैले उनको सुन्दरताको प्रशंसा गरेका छन् । यो भिडियो अभिनेत्री प्रियंका कार्कीले 'रिजेक्ट' गरेपछि उनको हातमा परेको थियो । उनलाई १ लाख तिर्न टिम तयार नभएपछि मरिश्काले यो गीतमा नाच्ने अवसर पाएकी थिइन् । 'सालको पातको टपरी' गीतले दिलाएको लोकप्रियता झैं उनलाई फिल्मले पनि दिलाए कस्तो हुने थियो ?