फिल्ममा लगानी गर्नु भनेको 'बालुवामा पानी हाले सरह हो' भनिए पनि दिनहुँ नयाँ निर्माताको प्रवेश रोकिएको छैन । दिनप्रति दिन फिल्ममा लगानी बढ्दो छ । कलाकार महँगिएका छन्, निर्देशकको पारिश्रमिक छोइसक्नु छैन । प्राविधिकदेखि उपकरणहरु त्यस्तै महँगा भएका छन् । अहिले एउटा फिल्म निर्माण गर्न एक करोड समान्य भइसकेको छ । स्टार कलाकार लिँदा २ करोड नै छुन्छ ।
हरेक वर्ष निर्माताको करोडौंको लगानी 'बालुवामा पानी हाले सरह' भइरहेको छ । वर्षमा एकाध फिल्मले मात्र मुश्किलले लगानी सुरक्षित गर्छन् नभए अधिकांश निर्माताको खल्तीमा लगानीको आधा प्रतिशत रकम पनि फिर्ता हुँदैन । 'छक्का पञ्जा ३' ले १७ करोड कमाएको देखेर फिल्म निर्माण गर्ने निर्माताहरु 'दिन दुई गुणा रात चार गुणा' बढेका छन् । तर, प्रतिफल शुन्य छ ।

अहिले बाठा निर्माताहरु हलको व्यापारमा मात्र ढुक्क भएर बस्ने गर्दैनन् । विभिन्न ब्रान्डसँग सहकार्य गरेर आधाउधी लगानी प्रदर्शन अगावै उठाइसकेका हुन्छन् । हलको व्यापार कहिले चकिलो हुन्छ त कहिले धुम्म । विषेशगरि गिनेचुनेका कलाकार लिँदा निर्मातालाई ठूलै राहत मिल्ने गर्छ । ठूला ब्रान्डहरु फिल्मसँग सहकार्यका लागि लाखौं तिर्न तँछाड-मछाड गर्छन् ।
उदाहरणको रुपमा अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ लाई लिन सकिन्छ । फागुन १७ गते रिलिज हुने फिल्मको सोमवार दुई नयाँ पोस्टर सार्वजनिक भयो । गएको दुई महिना अगाडि फस्टलुक पोस्टर रिलिज भएको थियो । अनमोलको टाउको विकाएर फिल्मको पोस्टरमार्फत् निर्माण टिमले ब्रान्डको विज्ञापन गर्न खोजेको बुझ्न गाह्रो छैन । पोस्टरको पुच्छारमा प्रख्यात कम्पनीको ब्रान्डको लोगो लस्करै झुन्डिएका छन् ।
‘क्याप्टेन’ को पोस्टर दर्शकलाई फिल्मप्रति आकर्षित गर्न नभइ ब्रान्डको विज्ञापनका लागि तयार पारिएको भान हुन्छ । पोस्टरमा स्थान दिइएको चर्चित ब्रान्डबाटै निर्माता भुवन केसीले लाखौं रुपैयाँ बुझिसकेको स्रोत बताउँछ । अनमोलको फिल्म भनेपछि दर्शकमा अत्याधिक चासो रहने हुँदा ठूला कम्पनीहरु सहकार्य गर्न मरिहत्ते गर्दछन् । अनि, निर्माता लोभिनु स्वभाविकै हो ।
फिल्ममा लगानी गर्न निर्माता र सहकार्य गर्न ठूला-ठूला ब्रान्डको कमी नभए पनि उनका फिल्म अपेक्षाअनुसार बन्न नसकेको आरोप पटक-पटक लाग्दै आएको छ । अभिनयमा 'ग्रोथ' नभएको आलोचनाबाट अनमोल पाँचौ फिल्म रिलिज भइसक्दासम्म मुक्त छैनन् । तर, चर्को आलोचना भए पनि स्टारडम उनकै लोभलाग्दो छ । अहिलेका राम्रो फेस भ्यालु र उच्च माग भएका अभिनेता हुन् उनी ।

