डेब्यु फिल्म ‘ए मेरो हजुर २’ ले अभिनेता सलिमान बनियाँलाई ठूलो 'फ्यान फलोइंग' दिएको छ । फरक हेयर स्टाइल र पहिरनका कारण प्रायः चर्चामा रहने उनी लगभग डेढ वर्षपछि पर्दामा देखिँदैछन् । उनी अभिनीत नयाँ फिल्म ‘यात्रा’ यस वर्षको चैत २९ गते प्रदर्शनमा आउँदैछ । यसमा उनी एक भ्लगरको भूमिकामा छन् । उनको अपोजिटमा मल्लिका महत्त छिन् ।
अहिले फिल्मको डबिङमा व्यस्त उनी दोस्रो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । सलिनको डबिङसँगै ‘यात्रा’ को काम अन्तिम चरणमा पुगेको छ । यो फिल्मको लामो समय सुटिङ चलेको थियो । फिल्ममा सलिनले गरेको डान्स र फाइटको यतिबेला टिमभित्र चर्चा छ । निर्देशक सम्राट शाक्यले आफूलाई बेस्ट देखाउन सलिनले कुनै कसर बाँकी नराखेको बताए ।
‘हामीले फिल्ममा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौं’ उनी भन्छन्, ‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौं ।’ फिल्मको डबिङ गरिरहेका सलिन पनि खुसी छन् । उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन् । ‘रमाइलो भइरहेको छ’ उनी भन्छन्, ‘दोस्रो फिल्ममा आइपुग्दा आफूलाई झनै परिपक्व बनाउदैछु ।’
नेपालमा चलेका कलाकारलाई एउटा फिल्म निर्माण भइसकेपछि अर्को फिल्म गर्न हतार भइहाल्छ । तर, सलिनलाई कुनै हतार छैन । ‘यात्रा’ पछि कुन फिल्म गर्ने उनी स्वयंलाई थाहा छैन । उनी आफूलाई सुहाउँदो रोल अफर आओस् भन्ने चाहन्छन् । ‘यात्रा’ मा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ ।
विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । फिल्ममा कथा निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।

